भ्रमण वर्ष सफल पार्न म्यान्मारका नेपालीलाई राष्ट्रपतिको आग्रह
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
318
Shares
श्याम रिमाल, म्यान्मार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न र भ्रमण वर्षबारे म्यान्मारमा व्यापक प्रचारप्रसार गर्न म्यान्मारमा रहेका नेपाली मूलका मानिसहरुलाई आग्रह गरेकी छन्। अखिल म्यान्मारदेशीय गोर्खा हिन्दू धार्मिक सङ्घद्वारा आज पिन ऊ लिन शहरमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सर्वोच्च शिखर सगरमाथाको प्रचारप्रसार गर्न पनि उनीहरुलाई आह्वान गरिन् ।
म्यान्मारमा रहेका प्रवासी नेपालीले नेपाली भाषा, संस्कृति र वेशभूषाको संरक्षण गरेकामा र म्यान्मारसँगको नेपालको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले म्यान्मारसँग नेपालको व्यापार, लगानी, पर्यटन र संस्कृति विषयको प्रवद्र्धन गर्न म्यान्मारली नेपालीभाषीलाई आग्रह गरिन् । उनले आफ्ना पूर्वज जस्तै उद्यमी र परिश्रमी बन्न उनीहरुलाई आग्रह गर्दै भनिन्, “दुई देशबीच सम्बन्ध प्रगाढ बनाउनका लागि भूमिका खेल्नुहोस् , नेपाललाई मनमा राखी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुहोस् । ”
सो अवसरमा म्यान्मारका लागि नेपाली राजदूत भीमकृष्ण उदासले भारतीय नेपालीपछि म्यान्मारली नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिको बढी संरक्षण गरेको बताए। उनले विश्वयुद्धमा करीब ३०० नेपालीले म्यान्मारमा वीरत्व प्राप्त गरेको र शुभबहादुर राईलगायतले बेलायतको भिसीसरह पदक प्राप्त गरेको बताउँदै शहादतप्राप्त नेपालीको सम्मानमा राजदूतावासको आयोजनामा वर्षेनी श्रद्धाञ्जलि कार्यक्रम राख्ने गरिएको जानकारी दिए।
धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेले करीब डेढ लाख नेपालीभाषीले म्यान्मारमा आनन्द र शान्तिपूर्वक जीवनयापन गरिरहेको बताउँदै आफूहरुले २५० पाठशाला चलाई आफ्ना छोराछोरीलाई नेपाली भाषा साहित्यबारे अध्यापन गरिरहेको जानकारी दिए। उनले सन् २०२०मा नेपाल भ्रमण वर्ष सफल पार्न सङ्घले नेपाल भ्रमण अभियान चलाउने भएको पनि बताए।
सङ्घका संरक्षक मणिलाल पौडेलले राष्ट्रपतिको म्यान्मार भ्रमणका क्रममा नेपालीभाषीहरुसँग भएको भेटले आफूहरु निकै भाग्यमानी भएको बताउँदै नेपालीहरु सधैँ मिलेर बसून् भन्ने कामना गरिन् । उनले भने, “हामीहरुलाई आज नेपालमाताको दर्शन गरेसरह नै भएको छ, हामी नेपाल आमाको काखमा नै छौँ भन्ने अनुभूति भएको छ ।” उनले नेपाल भ्रमण गर्दा म्यान्मारलीलाई प्रवेशाज्ञा निः शुल्क गरियोस् भन्ने माग पनि गरे।
सो अवसरमा धार्मिक सङ्घले नेपाली प्रतिनिधिमण्डललाई मायाको चिनो प्रदान गर्नाका साथै दिवाभोजको पनि आयोजना गरेको थियो । पिन ऊ लिनमा करीब १५ हजार नेपाली रुवी(मणि), दुग्ध, खनिज, फोटो तथा खेतीबारी आदि व्यवसाय गरेर बसेका छन् । यहाँ नेपालीहरुले दशैँ, तिहार, तीज आदि चाडपर्व मनाउने गरेका छन् ।