arrow

नरहरि आचार्यको घरमा २३ औं कार्यक्रम, जागरण अभियान सशक्त नभएको गुनासो

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
received_282153782668036.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा ‘नेपाली कांग्रेसको राष्ट्रिय जागरणको उद्देश्य हाम्रा कार्यक्रमहरु’ विषयमा शनिबार छलफल भएको छ । 

पहिलो र दोस्रो राष्ट्रिय जागरणको कार्यक्रम सकिएको छ । पहिलो बैशाख, दोस्रो भदौ र अब तेस्रो पुसमा १० दिनको कार्यक्रम हुँदैछ । तेस्रो कार्यक्रम गर्दा पहिलो र दोस्रोमा के अपुग भयो त्यसको समिक्षा गरेर पुसमा हुने कार्यक्रम पुरा हुने गरेर गर्नुपर्नेमा जोड दिइएको छ । 

कार्यक्रममा जागरण भएको कार्यक्रम र नभएको कार्यक्रम सुनाएका छन् । यो अभियानले सुरुमा नै १५ बुँदे उद्देश्य राखेको थियो । त्यो उद्देश्य पुरा भयो कि भएन ? केही पुरा भएकै होला । उद्देश्यको पहिलो नम्बरमा नेपाली कांग्रेस पार्टीको महासमितिको बैठकबाट पारित नीति, कार्यक्रम र संशोधीत विधानबारे पार्टीका स्थानीय तहसम्मकै साथीहरुलाई र आमशुभचिन्तकहरुलाई समेत व्यापक ढंगले सुसुचित गर्ने भन्ने रहेको स्पष्ट पारिएको छ । 

अहिले जतिपनि कुरा आएका छन्, आउने कुरामा महासमितिले पारित गरेकै विषयमा विवाद हुन्छ । यस्तो देखिएपछि महासमितिले पारित गरेको कुरा अहिलेसम्म पनि पु¥याउन सकेका रहेनछौं भन्ने देखिएको निष्कर्ष निकालिएको छ । 

भनिएको छ –हाम्रो सिद्धान्त कांग्रेस स्थापना हुँदा जे थियो त्यहि नै छ । हाम्रो सिद्धान्त परिवर्तन भएको छैन । हाम्रो सिद्धान्त भनेको मुख्य लोकतन्त्र हो । त्यसले राष्ट्रियतालाई समातेर लोकतन्त्रको संरक्षण गर्ने, सम्र्वद्धन गर्ने, सिद्धान्त हो । हाम्रो कार्यक्रम समाजवाद हो । यो कुरा विसं.२०१२ सालमा पनि यहि भनिएको थियो । 

कार्यक्रममा अगाडि भनियो, ‘संवैधानिक राजतन्त्र थियो, गयो । त्यो पनि हाम्रो नीति नै हो । यो नीति थियो हाम्रो, त्यो नीति परिवर्तन भयो । हाम्रो सिद्धान्त परिवर्तन भएको होइन, सिद्धान्त लोकतन्त्र नै हो । यो ढंगले व्यापक रुपमा सुसुचित गर्ने हामीले भनेका छौं । दोस्रो तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई विश्वास दिलाएको काम गर्न अपिल गर्दै आवश्यक दबाब बढाउन भनिएको छ ।’

कार्यक्रममा ‘यतिखेर संघीय सरकार र प्रादेशीक सरकार हाम्रो जिम्मामा छैन । पालिका सरकार एक तिहाई कांग्रेसकै जिम्मामा छ । त्यसलाई कसरी चलाउने भन्ने केही निर्देशन दिन पर्ने हो कि होइन ? यसका बारेमा कतै, कुनै चर्चा छैन । स्थानीय सरकारलाई कसले कसरी चलाउदैछ सैद्धान्तिक रुपमा ? व्यावहारिक रुपमा रुपमा जो निर्वाचित छन् तिनले नै चलाएका छन्, सिद्धान्त कसले दिन्छ । पार्टीले के गरेको छ ? भन्ने कुरा मानिसको मनमा उठेको छ । विपक्षीको छ भने पनि भन्नु प¥यो, हाम्रो छ भने पनि कसरी चलाउनु पर्छ भन्नु पर्छ । गर्ने काम निर्वाचित प्रतिनिधिहरुले नै गर्छन् । यो सैद्धान्तिक आलोकमा, यो ढंंगमा चलाउनु प¥यो भन्ने हाम्रो उद्देश्य हुन्छ । हामीले कति गर्न सकेका छौं मूल्याङ्कन गर्नुपर्छ ।’ भनिएको थियो । 
 

कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले ‘नरहरि दाइको स्वास्थ्य दिनानुदिन राम्रो हुँदैछ, अझ स्वस्थको कामना गर्दछु । दाइले पछिल्लै समयमा पनि बौद्धिक किसिमले जसरी पार्टीलाई योगदान पुर्याउनु भएको छ यहो हामी सबैले सिक्नै पर्ने कुरा हो । दाइको अगाडि बोल्न धक लाग्छ, डर लाग्छ मलाई । किनभने नेपाली कांंग्रेस पार्टी र सिङ्गो राजनीतिमा नरहरि आचार्य भनेपछि तरङ्ग आउछ ।’ भने । 

आचार्यको घरमा गरिएको यो २३औं कार्यक्रम हो । ‘कांग्रेस पार्टीलाई सुदृढीकरण गर्न यो छलफल महत्वपूर्ण छ । नेपाली कांग्रेसको राष्ट्रिय जागरण हाम्रो महासमिति बैठकले पारित गरेकै नीतिका आधारमा तयार गरिएको हो । केन्द्रीय प्रतिनिधिले जानुभन्दा पहिला के गर्नुपर्छ र गइसकेपछि के गर्नु पर्छ भन्ने सम्मको निर्देशन छ । पहिलो अभियान ७७ जिल्लामा १ महिने कार्यक्रम सुरु गरियो । दोस्रो अभियान ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्र्रतिनिधि साथीहरु खटिनु भएको थियो । जागरण भनेको उद्बोदन, जागृति, होसियारीपन, स्मरणले रातभर बस्ने काम, भजन किर्तनले रातभर बस्ने काम र रातभर जाग्राम बस्ने काम भन्ने जनाउँदो रहेछ ।’ कार्यक्रममा भनियो । 

‘कांग्रेसले जागरण अभियान चलाएको पार्टी भित्र र जनतालाई होसियार, जागृत हुनुपर्छ भन्ने उद्देश्यका साथ यो जागरण भन्ने शब्द लिइएको लाग्दछ । जागरणमा केन्द्रीय प्रतिनिधिहरुले कम बोल्ने बढी सुन्ने पनि भनिएको थियो । जागरणको समिक्षा सकारात्मक थियो । पार्टीमा शून्य अवस्था थियो त्यसलाई चलायमान बनाएको छ । पार्टी कार्यकर्तामा नैरास्यता थियो, गतिशिल बनाएको छ, पार्टी केही गर्छ भन्ने सन्देश दिएको छ । यसले विपक्षीहरुलाई झकझकाएको छ । सरकारले गरेका जनविरोधी कदमहरु बाहिर ल्याउने काम भएको छ ।’ कार्यक्रममा भनियो ।

‘सुशीलदाइ प्रधानमन्त्री, नरहरिदाइ संविधानसभा मन्त्री हुँदा हामीले संविधान जारी गरेको हो । तर हाम्रो पार्टीको संघीय संरचनानै बन्न सकेन । कार्यकर्ताको गुनासो धैयर्तापूर्वक सुनिएको छ । अब जनतामा जाने कार्यक्रम चाहिन्छ भन्ने आम कार्यकर्ताको भनाइ छ । अहिले हाम्रै नेताहरुको गतिविधि, निर्णय क्षमता, सरकारमा हुँदा गरेको काम र वर्तमान सरकारको काण्डैकाण्ड घटेका छन् त्यसमा प्रश्न उठिराखेको छ । तेस्रो चरणको जागरणमा गर्नुपर्ने काम ७५३ पालिकामा हामीले केन्द्रीय पठाउने कुरा भइराखेको छ । त्यहाँ जाने प्रतिनिधि झन ्धेरै दक्ष र विज्ञ हुन जरुरी छ । अब हाम्रो मुद्दा के के हुने हो ! अब हामी पालिका स्तरमा जाने हुँदा करको मारमा नेपाली जनता परेका छन् भनिरहेका छौं, करको विषयमा कांग्रेसको दृष्टिकोण के हो ? कतिपय ठाउँमा कांग्रेसकै नेतृत्व छ । हामीले जितेको ठाउँमा करका विषयमा के भन्ने हो ? हाम्रो धारणा बनाउ । कांग्रेसको स्थानीय सरकार कसरी चल्ने खाका बनाउन जरुरी छ । नमुना पालिकाको विकासको अवधारणा हामीले बनाउनु पर्छ । हामीले संघीय सरकारका बारेमा मात्रै बोलेका छौं । हामीले प्रदेश सरकारको बारेमा पनि बोल्नुु पर्छ । वैचारिक, राजनीतिक र सांगठनिक रुपमा हामी बलियो हुनुपर्दछ । अबको कार्यक्रममा कांग्रेसको विचार स्पष्ट हुनेगरी जनतालाई मन पर्ने गरी कार्यक्रम बनाउन जरुरी छ ।’, कार्यक्रममा भनियो । 

त्यसैगरी सिन्धुपाल्चोक कांग्रेस सभापति विकास लामाले भने, ‘राष्ट्रिय जागरण कार्यक्रम सुरु हँुदा अत्यन्त्य खुसी भएका थियौ । जागरण कार्यक्रमको उद्देश्य पूर्ति गर्ने किसिमले भने हुन सकेन । पहिलो जागरणको उद्देश्य गुटगत राजनीतिलाई कम गर्ने थियो । केन्द्रीय प्रतिनिधिहरुमा धेरै अस्पष्टता पनि देखियो । सिन्धुपाल्चोकमा अल्लि विवादपनि रह्यो । केन्द्रीय प्रतिनिधिले केन्द्रबाट दिएको १५ बुदालाई स्थानीय तहको समेत समावेश गरेर बढाउन पनि सकिन्थ्यो । स्थानीय मुद्दा पनि समावेश गर्नुपर्ने हुन्छ । दोस्रो जागरणको कार्यक्रम अझ बढी अव्यवस्थित रह्यो । तेस्रो जागरण कार्यक्रममा कम्युनिष्टसँग मानिस निराश छन्, कांग्रेसप्रति आकर्षित हुने बनाउनु पर्छ । तेस्रो जागरणको एजेण्डामा तल्लो तहको कार्यकर्ता उत्साहित हुने, आन्तरिक रुपमा समुह होला तर बाह्य रुपमा एकता रहेको अवस्था विश्वस्त बनाउन सक्ने एजेण्डा बनाउनु पर्छ । जागरण मार्फत युवालाई आकर्षित हुने एजेण्डा ल्याउनु प¥यो । कांग्रेसमा युवाको भविष्य छ, आउने चुनाव जित्छौं भन्ने आधारहरु देखाउन सक्नु पर्छ कांग्रेसले पाँच, दश र पन्ध्र वर्षको एजेण्डा सहित अघि आउनु पर्छ ।’

कांग्रेस महासमिति सदस्य डा.सुभाषचन्द्र यादव(सिरहा) ले भने, ‘दोस्रो जागरण कार्यक्रममा केन्द्रीय प्रतिनिधि भएर महोत्तरी जाने अवसर मिल्यो । त्यसैले प्रतिनिधिका रुपको भूमिका र नेता, कार्यकर्ताको भनाईलाई मैले साक्षात्कार गर्ने अवसर पनि मिल्यो । प्रतिनिधिहरुको एउटै स्वर बनाउन छोटोसमयको भएपनि प्रशिक्षण जरुरी देखिन्छ । अन्यथा आफुले बुझेको अनुसार नै राख्ने कुरा आउँछ । जागरण कसकोलागि हो, किन हो भन्ने प्रश्न पनि छ । यि गम्भीर प्रश्न हुन् । क्रियाशील सदस्य साथीहरु पनि सबै चलाउन अझै सकिएको छैन । जागरण कार्यक्रमको उद्देश्य सँग धरातलको यथार्थ अवस्थासँग मेल खाएको छैन । हामी जागरण गएको ठाउँमा विषयवस्तुको चासो हुनुपर्दछ ।’

उनले अगाडि भने, ‘राष्ट्रिय विषय सबैको एउटै हुनसक्छ । हामी प्रदेश स्तरमा जादा प्रदेश प्रदेशका फरक बुँदाहरु पनि प्रस्तुत हुनुपर्दछ । अहिले जागरणमा आरक्षणका कुरा उठिराखेको छ । हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेका छौं, संविधानमा आरक्षणका कुरा स्पष्टसँग छ । त्यसमा पार्टीका कुनै सदस्यलार्ई राम्रो नराम्रो लाग्दैमा समावेश नहुनेत होइन ? यस्तो कुरा आपत्तिजनक हो । यस्तो गरेर गरिएको जागरणले जनतालाई सही सन्देश दिन सक्दैन जसले गर्दा कांग्रेसलाई राम्रो गर्दैन । संविधान हामीले बनाएको हो । संविधानमा भएका आरक्षण लगायतका कुरा स्पष्ट रुपमा हामी भनौं । विगतमा संविधानलाई कागजको खोस्टो हो भन्दै नागरिकताको विषयमा चर्को विरोध गर्नेहरु अहिले केही कुरै आएको छैन जसरी बसेका छन् । जागरण पार्टी सदस्यलाई हो भने त्यही रुपमा जानु प¥यो । जनतालाई गर्ने हो भने त्यहि रुपमा जानु प¥यो । कांग्रेसको विचारलाई ध्यानमा दिएर तेस्रो चरणको कार्यक्रम आउदा स्थानीय मुद्दा, प्रादेशीक मुद्दा र राष्ट्रिय मुद्दा तिनवटैलाई समावेश गरेर जानुपर्छ । नेपाली कांग्रेसले संविधान संशोधनको लागिग गरेको प्रस्ताव र नागरिकता सम्बन्धी विधेयक बनाउदा हाम्रो बोर्डरलाईन २०६३ हो भनिएको छ यसको सह्राहना भएको छ । हामीले सोसित पीडित, सिमान्त वर्गलाई आकर्षित र समावेशी गर्न जरुरी छ ।’

नेपाली कांग्रेस काठमाडौंका सदस्य रामचन्द्र घिमिरेले भने, ‘राष्ट्रिय जागरणको दुई चरणको कार्यक्रम सकिएको छ । त्यसमा सक्रिय रुपले काम गरियो । हाम्रो जागरण कार्यक्रममा महासमितिले पारित गरेको नीति, कार्यक्रम र विधान सम्बन्धी कतै चर्चा सम्म पनि आएको छैन । सरकारको विरोध गरेका छौं । नेकपा भ्रष्टाचारी भयो, नेकपाले अनैतिक काम ग¥यो भनेका छौं । त्यसैगरी हाम्रो पराजय र हारको कुरा पनि गरेका छौं । यिनै काम गरेर पहिलो र दोस्रो जागरण सकेका छौं । पार्टीको उद्देश्य अनुरुप हामीले काम गर्न सकेको भए अहिलेसम्म हाम्रो संंगठनको अवस्थामा नै फरक आइसक्थ्यो । अर्को पालिका सरकार कसरी चल्छ ? भनेर मोडलका रुपमा संचालन गर्न पाएको भए हाम्रो अवस्था धेरै फरक हुन्थ्यो । अहिले उठिरहेका जतिपनि प्रश्न छन् तिनको उत्तर दिन सकिन्थ्यो । अब हुने तेस्रो जागरण कार्यक्रममा केन्द्रीय प्रतिनिधिहरुलाई पहिला प्रशिक्षण दिएर पठाउनु प¥यो । विगतका दुई कार्यक्रममा इतिहासका कुरा धेरै भए, अबको कार्यक्रम भविष्यमुखी हुनुप¥यो । कांग्रेस  महासमितिले थप व्याख्या गरेरको संघीय लोकतान्त्रिक गणतन्त्र बताउने र धेरै परिवर्तन भएको पार्टी विधानका बारेमा राम्रोसँग बताउने गरी केन्द्रीय प्रतिनिधि आउनु पर्छ । कांग्रेससँग विद्यार्थी, तरुण, महिला, दलितको कमी छैन तर कांग्रेससँग यिनलाई सक्रिय बनाउने कार्यक्रम छैन । त्यसैले तेस्रो जागरणमा कांग्रेस सदस्यका परिवारमा रहेका विद्यार्थी, युवा, महिला र दलितलाई छुनेगरी कार्यक्रम आउनु पर्छ । मुलुकमा उठिरहेका विषयहरुमा तत्काल कांग्रेसको धारणा बाहिर आउनु प¥यो । यस्तो धारणा तल्लो निकायसम्म पुग्ने संरचना बनाउन जरुरी छ ।’

शिक्षक शिवचन्द्र घिमिरेले भने, ‘कांग्रेसले चलाएको जागरण भन्नाले कांग्रेस निदाएको, बेहोसी अर्थ लाग्ने, फेरि जगाउन भनिएको होला, अथवा बाँहिर गएका कांग्रेसी, कम्युनिष्टलाई कांग्रेस बनाउने लगायतका धेरै पक्षबाट हेर्न पर्छ भन्ने लाग्छ । २०४६ सालपछिछ कांग्रेसको रजगज चल्यो । २०६३मा माओवादीको बलमा आन्दोलन भयो । त्यसपछि कम्युनिष्टहरु हाबी हुन थाले । जनता यिनै हुन्, हिजो कांग्रेस भए, आज कम्युनिष्ट भएका छन् । हिजो बयलगाडा भन्नेलाई देश सुम्पिएको छ । यि कसरी सफल भए भन्दा बोलेर नै सफल भएका  हुन् । यिनले बोल्न जाने त्यो मान्नै पर्छ, कांग्रेस हारेकै हो त्यो मान्नै पर्छ । कांग्रेसले ति बोल्नेसँग कसरी काउण्टर गर्नेत ? बोल्नेसँग बोलेर नै काउण्टर गर्नुपर्छ । प्रतिपक्ष भएपछि काम गर्ने अबसर भएन । कांग्रेससँग बोल्ने बक्ताहरु खोई ? अध्ययन खोई ? मैले हेर्दा कांग्रेसका नेताहरु गुटमा रमाउने, आफुलाई एउटा पद भए भयो । नरहरि आचार्यको पुस्तक  विमोचन पोखरामा हुँदा एकजना नेताले भन्नु भएको थियो, ओहो नरहरि दाइले त २०५१ सालमा नै भन्नु भएको रहेछ संघीयता ! हामीलेत भरखरै थाहा पाइयो भन्नु हुन्छ । नरहरिले भनेको कांग्रेसका नेताले भरखरै थाहा पाउछ भने कांग्रेस नेतृत्वको अवस्था कस्तो छ स्पष्ट हुन्छ । त्यसैगरी गणतन्त्र भन्ने नरहरि आचार्य अर्थात गणतन्त्र कांग्रेसको हो की प्रचण्डको ! कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न कांग्रेसको ठूलै तयारी चाहिन्छ । केपी वली अगाडि देखिएपनि मुख्य खेलाडी प्रचण्ड हुन् । प्रचण्डले केपीलाई मन पराएर मानेका होइनन् ! हिजो गिरिजालाई मन पराएर मानेका होइनन् ! यिनि व्यक्ति समाउदैै हिड्छन् र आफ्नो रणनीतिमा सफल पनि देखिएका छन् । जागरण भनेको कांग्रेस ब्युझने हो । कांग्रेस ब्युझने भनेको कम्युनिष्टलाई काउण्टर गर्ने हो, प्रतिवाद गर्न सक्ने हुनु हो । अब त्यो कार्यनीति, सिद्धान्तले हुन्छ कि बोलेर हुन्छकि यो अपेक्षा नेतृत्व तहसँग प्रत्येक कांग्रेसले गरेका छन् जस्तो लाग्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिभि मनिष जोशी, बसन्त गौतम, गोकर्ण पौडेल, कान्तिपुर क्याम्पसका स्ववियु सभापति पावल बज्राचार्य, श्याममणी आचार्य, सकुन्तला घिमिरे, स्मृति अर्याल, करुणा स्वाँर, यमुना लिम्बु, बिनोद परियार, सविन भेटवाल, टोपेन्द्र रानामगर लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ