दुवै पद खाली नभई सभामुखको निर्वाचन गर्न मिल्दैन : गुरुङ

प्रकाशित मिति : २०७६ कार्तिक ३ आइतबार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन् ।

प्रमुख सचेतक गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचनबारे टीकाटिप्पणी गरिरहने नमिल्ने उनले बताए ।

यौन दूराचारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । सोही पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले असहज बनाएको प्रमुख सचेतक गुरुङको भनाइ छ ।

आइतबार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता गुरुङले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको पनि बताए ।

सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङको भनाइ छ । ‘संविधानले सभामुख र उपसभामुख दुई पद फरक-फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ,’ प्रमुख सचेतक गुरुङले भने, ‘यस्तो अवस्थामा दुवै पद खाली नभई सभामुखको निर्वाचन गर्न मिल्दैन ।’

प्रमुख सचेतक गुरुङले सभामुखको निर्वाचन गर्ने अवस्थानै नभएका बेला त्यसमा व्यक्तिले दावी गर्नुको कुनै औचित्य नरहेको पनि बताए ।

नयाँ