arrow

राजपामा अध्यक्ष मण्डल यतिसम्म ‘तानाशाही’  

logo
राजु रिमाल, 
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
rajapa.jpg

काठमाडौं । तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई गठन गरिएको राष्ट्रिय जनता पार्टी नेपाल सामान्यतया लोकतान्त्रिक पार्टी भनेर चिनिन्छ । तर व्यवहारमा पार्टीभित्र अलोकतान्त्रिक र तानाशाही पद्धति छ । 
 
पार्टी स्थापनाकालदेखि अहिलेसम्म साढे दुई वर्ष अवधि नाघ्दा पनि एक पटक मात्र केन्द्रीय समितिको बैठक बोलाइएको छ । पार्टीको पूरै अधिकार ६ जना अध्यक्ष रहेको अध्यक्ष मण्डललाई दिइएको छ । यतिसम्म अध्यक्ष मण्डललाई विधान संशोधन गर्ने अधिकारसमेत दिइएको छ ।

पार्टीको विधानमै पार्टीको नाम फेर्ने, चुनाव चिन्ह फेर्ने, पार्टीको छाप तथा झण्डा फेर्ने, पार्टी विस्तार, विलय तथा अन्य पार्टीसँग एकीकरण गर्ने लगायतका विषयमा निर्णय लिने पूर्ण अधिकार अध्यक्ष मण्डललाई दिइएको छ । अन्य पार्टीमा विधान संशोधन गर्न महासमिति या महाधिवेशन बोलाउनु पर्छ तर राजपामा पार्टीका ६ नेता एक ठाउँमा बसे भने विधान संशोधन गर्न सक्छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष तथा राष्टिय सभाका सदस्य वृर्खेशचन्द्रलाल पार्टीको विधानमा राखिएको यस्तो व्यवस्था अत्यन्त अलोकतान्त्रिक र तानाशाही भएको बताउँछन् । उनी भन्छन,‘यो त एकदमै अलोकतान्त्रिक व्यवस्था हो । यस्तो व्यवस्था चाहिं हुदैन’ । 

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद विक्की यादव भने महाधिवेशन सम्मको लागि यस्तो व्यवस्था राखिएको बताउँछन । ‘यस्तो व्यवस्था सधैं हुँदैन । महाधिवेशनसम्मकोलागि मानेका छौं,’ उनी भन्छन् । 

राजपाको विधानको धारा १७ मा अध्यक्ष मण्डलको व्यवस्था गरिएको छ । उक्त धारामा अध्यक्ष मण्डललाई ७ वटा अधिकार दिइएको छ । अन्य पार्टीमा केन्द्रीय समिति, महाधिवेशन, महासमितिलाई दिइएका सबै अधिकार अध्यक्ष मण्डलललाई दिइएको छ । विधानमा केन्द्रीय समिति, राजनीतिक समिति, पदाधिकारीको व्यवस्था छ तर ती सबै नाम मात्रका हुन् । ती समितिका सबै अधिकार अध्यक्ष मण्डललाई छ । 

केन्द्रीय समितिको बैठक पनि एक पटक मात्रै 
राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको बैठक आफ्नो जीवनमा एक पटक मात्र बसेको छ । त्यो पनि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रयोजनकोलागि बैठक बसेको हो । विगत साढे दुई वर्षदेखि राजपाको केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । 

निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रयोजनमा २०७४ भदौमा केन्द्रिीय समितिको बैठक बोलाइएको थियो । त्यस यता बैठक बस्न सकेको छैन । केन्द्रीय समितिको बैठक दुई वर्षदेखि बैठक बस्न नसकेपछि केही केन्द्रीय सदस्यहरू केन्द्रिीय समितिको बैठक बोलाउन नेतृत्वलाई दबाब दिँदै आएका छन् । अध्यक्ष मण्डलका सदस्यहरू भने केन्द्रीय समितिको बैठक बोलाउन विषयमा चासो राख्दैनन् । केन्द्रीय सदस्य यादवले केन्द्रीय समितिको बैठक बोलाउन पार्टीभित्र माग बढ्दै गएको बताए । 

राजपामा ८ सय १५ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय समितिको बैठक बोलाउँदा एकै पटक त्यती धेरै केन्द्रीय सदस्यहरूको व्यवस्थापन गर्न कठिन हुने भएकोले पनि बैठक बोलाउन अध्यक्ष मण्डलका सदस्यहरू तयार नभएको हुन सक्ने एक पदाधिकारीले बताए । राजपामा पदाधिकारीको संख्या पनि १ सय २७ जनाको छ ।

आगामी कार्तिकको अन्तिम साता राजपाको महाधिवेशनको तिथि तय गरिएको छ । तोकिएको समयमा महाधिवेशन नहुने करिब करिब निश्चित भएको छ । महाधिवेशन पछि केन्द्रीय समितिको आकार ह्वात्तै घटाउने तयारी भइरहेको राजपाका नेताहरुले बताएका छन् । यस्तो व्यवस्था राखी विधानको मस्यौदा समेत तयार गरिएको छ । 

राजपा गठन भए यता राजपासँग एक–दुई वटा स–साना जनजाति पार्टीहरू राजपासँग एकीकृत भए । राजपासँग एकीकरण हुन आएका अन्य पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई राजपाको केन्द्रीय सदस्यको हैसियत दिने प्रतिबद्धता राजपाका नेताहरुले गरेका छन् । ‘त्यसैले राजपामा अहिले कति केन्द्रीय सदस्य छन र कति पदाधिकरी छन् भन्ने विषयमा आधिकारिक रेकर्ड पार्टीमा छैन’ एक पदाधिकारी भन्छन् ।

तत्कालिन राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ८ महिनाअघि करिब आधा दर्जन केन्द्रीय सदस्य मनोनित गरेका थिए । उनले गरेको नियुक्तीको विषयमा विवाद भएपछि अध्यक्ष मण्डलको अर्को बैठकले ठाकुरले गरेका मनोयन रद्द गर्ने घोषणा गरेको थियो । त्यसपछि ठाकुरले गरेका मनोनयलाई केन्द्रीय सदस्यको हैसियत दिने कि नदिने भन्नेमा फरक फरक मत आएको छ ।

२०७४ वैशाख ७मा तत्कालिन ६ वटा तराइ मधेस कन्द्रीत दलहरूवीच एकीकरण भइ राजपा गठन गरिएको थियो । राजपा गठन हुँदा तत्कालिन ६ वटा पार्टीका केन्द्रीय सदस्यहरूले संयुक्त बैठक गरेका थिए । त्यसपछि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्ने प्रयोजनको लागि २०७४ भदौमा बैठक बोलाइएको थियो । त्यसपछि केन्द्रीय समितिको बैठक बोलाउने विषयमा अध्यक्ष मण्डलका सदस्यहरूले चासो राखेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ