महराको डीएनए टेस्ट लगायतको अनुसन्धान गर्न सात दिन म्याद थप
महराको तिहार पनि हिरासतमै
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
869
Shares
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धाका लागि थप सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले बिहिबार अनुमति दिएपछि नेपाल प्रहरीले शुक्रबार महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।
महरालाई न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले बिहिबारकै दिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अनुसन्धान प्रतिवेदनमा महरामाथि जबजरस्ती करणी उद्योगमा कैद तथा जरिवाना माग गरिएको छ । महराले गत असोज १२ गते संसद सचिवालयकी कर्मचारीको कोठामा गएर जबरजस्ती करणी गरेको आरोप छ।
अनुसन्धानका क्रममा महिलाको कोठाबाट बरामद भएको महराको फुटेको चश्मा, बोतल, गिलासलगायतको फरेन्सिक जाँच गरिएको र रिपोर्टहरू आइसकेको प्रहरीले जनाएको छ ।
अब महराको डिएनए टेस्ट गरि फरेन्सिक जाँचसँग मिलाइनेछ । महरालाई डिएनए परीक्षणका लागि रगत उपलब्ध गराउन बिहिबार अदालतले आदेश दिइसकेको छ । यसअघि यही कात्तिक २ गतेदेखि लागू हुने गरी महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जुन बिहिबार सकिएको थियो । निवर्तमान सभामुख महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो ।
संसद् सचिवालयका एक महिला कर्मचारीलाई जबर्जस्ती करणीको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ । हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या आएको बताइएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छI
दशैं अघि हिरासतमा लिइएका महराको अनुसन्धान लम्बिएपछि तिहार पनि हिरासतमै बित्ने भएको छ।