जबजलाई अगाडि सार्ने हो भने सुनभन्दा नि पक्का : वामदेव

प्रकाशित मिति : २०७६ कार्तिक १५ शुक्रबार

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट नै मुलुकमा समाजवाद स्थापना गर्ने बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनले आइतबार यहाँ आयोजना गरेको दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्ने बताए ।

उनले अहिले मुलुकमा समाजवाद निर्माण गर्ने उपयुक्त विचार के हुन सक्दछ भनेर छलफल भइरहेको बताउँदै अन्य दार्शनिकका विचारले नभई हाम्रै देशमा नै बनाइएको विचारले मुलुकलाई निकास दिने उल्लेख गरे।

“हामीले हाम्रै मुलुकमा विकास भएको विचारधारालाई टेकेर समाजवाद स्थापना गर्ने हो”, उनले भने, “माक्र्सवाद र लेनिनवाद दर्शनसम्बन्धी विचार हुन् । यी विचारले हाम्रो देशलाई ठोस निकास दिँदैनन् ।” पार्टी एकीकरण गर्दा भएका सहमतिअनुसार नै पार्टीको विचारलाई अवलम्बन गरिने उनको भनाइ छ ।

नेता गौतमले आगामी एकता महाधिवेशनसम्म पार्टीको विचार कुन हुने भन्नेबारेमा निष्कर्ष निकाल्ने भन्दै जनताको बहुदलीय जनवाद (जबज) लाई अगाडि सार्ने हो भने सुनभन्दा नि पक्का सुन हुने बताए ।

“पार्टी एकतामा अर्को शक्तिलाई पनि सम्मान गरेर जानु पर्दछ”, उनले भने, “सम्मान गर्नका लागि जबज र २१ औँ शताब्दीको जनवादलाई परिमार्जन गरेर पार्टीका आधिकारिक विचारधारा निर्माण गर्ने छौँ ।” उनले पार्टी एकतालाई ख्याल गरेर फाउण्डेशनले मदन भण्डारीको विचारलाई अगाडि सार्नुपर्ने बताए ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले एकतापछि पनि मदन भण्डारीको विचारलाई पार्टीले अवलम्बन गर्नुपर्नेमा जोड दिइन्।

नयाँ