arrow

राष्ट्रपतिकै भाञ्जा बाँस्कोटा त्रिविको उपकुलपतिमा नियुक्त, नेकपाकै विद्यार्थी नेताको बिरोध

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
bidhya-bhanjo.jpg

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बाँस्कोटालाई उपकुलपति नियुक्त गरेको हो ।

आइतबारै डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति डा. तीर्थ खनियाँको कार्यकाल २०७६ भदौ ५ मा सकिएपछि उक्त पद रिक्त छ ।

सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य रहेका थिए । सर्च कमिटीले उपकुलपतिका लागि धर्मकान्त बाँस्कोटा, भगवान कोइराला र चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको थियो ।

सर्च कमिटीले गरेको सिफारिस अनुसार सरकारले डा बास्कोटालाई उपकुलपति बनाएको छ । बाँस्कोटा राष्ट्रपति विद्या भण्डारीका नाताले भान्जा पर्दछन् । उनी दुई दिन चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)को डीन पनि भएका थिए । तर डा. गोविन्द केसीले कनिष्टलाई बनाएको भनी अनसन बसेपछि राजीनामा दिएका थिए । बाँस्कोटा नाक कान घाँटी रोग विशेषज्ञ हुन् ।

बाँस्कोटालाई उपकुलपति बनाउने निर्णयको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले नै आपत्ति जनाएका छन् । उनले सामाजिक संजाल फेसबुकमा उपकुलपति नियुक्तिको प्रक्रिया गलत भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्–‘त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा.धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ, बधाई तथा सफल कार्यकालको शुभकामना छ, । तर उहाँ योग्य र सक्षम हुँदाहुँदै पनि नियुक्तिको बिधि गलत भयो । हामीले बिगतबाट भन्दै आएका थियौ विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट होइन खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरियोस् । मेरो भनाइको तात्पर्य सक्षम र योग्य ब्यक्ति खुला प्रतिस्पर्धाको बिधि बसाल्दै नियुक्त गरिनु पर्दथ्यो त्यो भएन यसमा मेरो आपत्ति रहेको छ ।'

उनले भनेका छ्न्, 'केही विश्वविद्यालयमा रिक्त पदाधिकरीका लागि सरकारले खुला आवेदन माग गरेको छ, त्यो सराहनीय कदम हो, तर देशकै जेठो र ठूलो विश्वविद्यालयमा राजनीतिक नियुक्त गरेर बाँकीमा खुला आह्वान गरिनु जनआवाजका सामु झारो टार्ने मात्र काम भएको छ ।’

रन्जित तामाङ साविक माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका निर्वाचित अध्यक्ष हुन् । एमाले माओवादी एकीकरणपछि जनवर्गीय संगठनको एकतामा ऐन महर संयोजक भए भने उनी सहसंयोजक भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ