मृतकका श्रीमान् भन्छन् – अस्पतालको लापरबाहीले मेरो उठीवास भो
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
578
Shares
काठमाडौं । ललितपुरमा रहेको मेडिसिटी अस्पतालले एक बिरामीको तीन पटकसम्म अप्रेशन गरेर ज्यान नै लिएको आफन्तले आरोप लगाएका छन्।
बागलुङकी ३९ वर्षीया देवी शर्माको प्यान्क्रियाजमा सिष्ट छ भनी अप्रेसन गरेपछि फेरि थप दुई पटकसम्म अप्रेशन गरिएको थियो। शर्माका आफन्तले चिकित्सकको लापरवाहीका कारण विरामीको ज्यान नै गएको दावी गरेका छ्न्।
मृतकका पीडित परिवारले चिकित्सकको लापरवाहीका कारण तीन पटकसम्म अप्रेशन गरी अचानक बचाउन सकिएन भनेर आफूहरुलाई जानकारी दिएको बताए । उनीहरुले अप्रेशनमा लाग्ने खर्च पनि अत्यधिक धेरै देखाएर आफूहरुलाई पीडामाथि पीडा दिएको बताएका छन् ।
पहिले अप्रेशन गर्दा चार लाख रुपैयाँ लाग्छ भनेर भनेको तर पछि पाँच लाख ४० हजार रुपैयाँ तिरिसक्दा खर्च १६ लाख पुगेको भनेर शव समेत उठाउन नदिएको मृतकका श्रीमान छविरमण शर्माले बताए ।
हाम्राकुरासंग पीडा पोख्दै छविरमणले भने, ‘अस्पतालको लापरबाहीले मेरो उठीवास भो ।’
अस्पतालले पूरा १६ लाख रुपैयाँ नतिरी शव समेत उठाउन नदिने बताएको छ । मृतकको डा सुनिल शर्मा ढकालले अप्रेशन गरेका थिए ।
मृतकका श्रीमान् छविरमण शनिबार मात्र साउदी अरबबाट फर्केका थिए । श्रीमतीको उपचारका लागि रोजगारी छाडेर फर्केका उनले भक्कानिँदै भने, ‘देशकै राम्रो अस्पताल भनेर ऋण गरेर पैसा बुझाएँ तर अस्पतालको लापरवाहीले मेरो उठिबास हुने भो, मजस्तो पीडितसँग तिर्नै नसकिने गरी पैसा मागिरहेको छ ।’
यस सम्बन्धमा थप जानकारी लिन मेडिसिटी अस्पतालका सिईओ पंकज बास्कोटासंग पटक पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । मेडिसिटीले यसअघि पनि यस्तै किमिसका घटना गराएको आरोप खेप्दै आएको छ ।