बमकाण्डका आरोपी आलमले दिए बयान

दिपु मिश्र, प्रकाशित मिति : २०७६ कार्तिक १९ मंगलबार

रौतहट।  रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ मंगलबारबाट सुरु भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा आलमले मंगलबार बयान दिएका छन् ।

उनको बयान लिने क्रम मंगलबारका लागि सकिएको छ भने बुधबार १० बजेदेखि फेरि बयान लिन सुरु हुनेछ ।उनको बयानसंगै पक्ष विपक्षमा बहश सुरु हुनेछ  ।  सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको थियो ।

आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले जानकारी दिए ।

१२ वर्षअघि ईटा भट्टाभित्र जिउदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो। आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ सहितका व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिल कार्यालयका अनुसारआलमसहित उनका भाई मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंकर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको  छ  ।  गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।

नयाँ