arrow

कांग्रेसको १० घण्टे बैठकले पनि टुंग्याएन उम्मेदवार, कास्की २ मा बन्लान् त धनराज गुरुङ ?

logo
सुजिता बडाल, 
प्रकाशित २०७६ कार्तिक २० बुधबार
congress-office.jpg.gif

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्नै हम्मेहम्मे परेको छ । 

उम्मेदवार टुंगो लगाउन भन्दै मंगलबार बिहानदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा उम्मेदवारकाबारे शीर्ष नेताहरु बीच कुरा मिल्न नसक्दा १० घण्टासम्म बसेको बैठक निष्कर्षविहीन भएको हो । 

गत शुक्रबारसमेत उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रिय समितिको बैठक बोलाइएको भए पनि शीर्ष तहमा कुरा नमिल्दा पदाधिकारीलाई नै सो बारे निर्णय गर्न अधिकार दिइएको थियो ।

उम्मेदवार चयन गर्ने विषयमा विवाद बढ्दै गएपछि पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत राख्ने गरी केन्द्रिय समितिबाट निर्णय भएको थियो । 

त्यसको पर्सिपल्ट अर्थात आइतबार पुनः सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बोलाइएको थियो । आइतबारका लागि बोलाइएको बैठक भने बस्दै नबसी सारिएको थियो । 

स्रोतका अनुसार कास्की २ मा प्रतिनिधि सभा तर्फको उपनिर्वाचनका लागि नेता धनराज गुरुङलाई उम्मेदवार बनाउन नेताहरु सहमत भइसकेका छन् । 

कास्की २ मा उम्मेदवारका लागि गुरुङसँगै देवराज चालिसे र खेमराज पौडेल पनि दावेदार छन् । तर प्रदेशसभातर्फ भक्तपुर १ ‘क’, दाङ ३ ‘ख’ तथा बाग्लुङ २ ‘ख’ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरु बीच सहमति जुटेको छैन । 

प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २ का लागि देउवाले नै गुरुङलाई प्रस्ताव गरेका हुन् । यस्तै प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ मा सिटौलाले आफ्नो समूहबाट उम्मेदवार बनाउन माग गर्दै आएका छन् । त्यहाँ देउवा समूह पनि उम्मेदवार आफ्नै पोल्टामा पार्ने दाउमा छ । 

दाङ ३ ‘ख’ तथा बाग्लुङ २ ‘ख’ मा समेत देउवा, पौडेल र सिटौला बीच कुरा मिल्न सकेको छैन । यस बाहेक गाउँपलिका तर्फ र अन्य रिक्त वडाध्यक्ष कसलाई उम्मेदवार बनाउने भन्नेमा भने कांग्रेसमा छलफल नै भएको छैन । 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी कुल ५२ रिक्त पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुनेछ । 

निर्वाचन आयोगले बिहीबारका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका ल्याइसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ