भारतको नयाँ नक्साबारे तरुण दलको सरकारलाई प्रश्न – राष्ट्रवादी नेता ओली किन मौन
प्रकाशित २०७६ कार्तिक २० बुधबार
316
Shares
भारतले नेपाली भूभागहरु कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेकोप्रति नेपाल तरुण दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तरुण दल अध्यक्ष जीतजंग बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने तीन करोड जनताको आत्मामा चोट पुग्ने विषय आउँदा समेत राष्ट्रवादी नामले नेपाली जनता सामु चिनाउन खोज्ने केपी ओली नेतृत्वको सरकार किन मौन भनी प्रश्न गरेका छन् ।
विज्ञप्तिमा जनताको चाहना बमोजिम उक्त भूभागबारे ओली सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै उनले नेपालको एक मुठ्ठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने चेतावनी दिइएको छ ।
कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् भन्दै तरुण दलले भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कुटनीतिक पहल तत्काल सुरु गरोस् भनेको छ ।