arrow

जनावरका छाला हड्डी पोल्ने तीनलाई कारबाही

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
lalitpur-metro.png

काठमाडौँ । ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला नजिक असुरक्षित रुपमा जनावरका छाला र हड्डी जलाउँदै गरेको अवस्थामा पक्राउ परेका तीन जनालाई नगर प्रहरी ऐन अनुसार कारवाही गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले बताए ।

ऐन अनुसार जरिवाना तिराएर त्यहाँ रहेको जनावरको छाला र हड्डीलाई सुरक्षित रुपमा नष्ट गरिने छ, ‘त्यस ठाउँमा वातावरण प्रदूषण गराउने कार्यमा समेत रोक लगाइने छ, भट्टराईले भने ।’ उनले यसअघि तरकारीलगायत अन्य फोहरको विषयमा यसरी गुनासो आएको र जरिवाना तिराएको भए पनि जनावरको हड्डीको विषयमा भने पहिलो पटक घटना भएको बताए ।

वातावरण प्रदूषण गरेको भन्दै स्थानीयवासीले दिएको उजूरीको आधारमा ललितपुर प्रहरीले भारतीय नागरिक फैसल मुस्लिम, साजिद मुस्लिम र नेपाली रामेश शेर्पालाई पक्राउ गरेको छ ।

कानून अनुसार प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउन नमिल्ने देखेपछि उनीहरुलाई मङ्गलबार ललितपुर महानगरपालिकामा बुझाइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

वातावरण प्रदूषण गराएको भन्दै एक हप्ताअघि स्थानीयवासी बुद्धमार्ग क्लबले छानबीन गरी कारवाही गर्न भन्दै निवेदन दिएको थियो । सोही उजूरीका आधारमा प्रहरी पुग्दा उनीहरुले झण्डै दुई ट्याक्टर छाला र हड्डी जलाउँदै गरेको अवस्थामा फेला पारी तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुले विभिन्न क्षेत्रबाट हड्डी सङ्कलन गरेर यहाँ जलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । यसरी जलाउँदा आसपास क्षेत्रमा प्रदूषण फैलिएको स्थानीयवासीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ