arrow

सीमा अतिक्रमणको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

logo
रासस,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
Lipulek-1.jpg

काठमाडौं । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध र्‍याली प्रदर्शन गरेको छ ।

नेमकिपाले बुधबार भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध र्‍याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै यसको विरोध गरिएको हो ।

विरोधसभामा बोल्दै नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरी जारी गरेको नक्साको बारेमा सरकारले तत्काल चासो दिएर अन्तर्राष्ट्रिय मञ्चलाई घच्चघचाउनुपर्ने बताए ।

उनले सत्तामा रहेका दल र ठूला राजनीतिक दलहरुले तत्काल भारतको विरोध गर्न नसक्दा भारतले सीमा अतिक्रमण गरेको विचार व्यक्त गरे ।

जम्मु कश्मीरमा भारतको हस्तक्षेपबारे नेपाली नेताले बोल्न नसक्नु र संयुक्त राष्ट्रसङ्घमा भएको सभामा नेपाली पक्षले सीमा विवादबारे विषय उठाउन नसक्दा अहिले भारतले नेपालको सीमा मिच्न बल पुगेको उनको आरोप छ ।

सांसद सुवालले नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्सा नसच्चाएसम्म नेमकिपाले सडक र सदनमा विरोध जारी राख्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ