भारतको कदम अन्तराष्ट्रिय कानुन विपरित, नक्सा सच्याउन माग
प्रकाशित २०७६ कार्तिक २० बुधबार
593
Shares
काठमाडौं । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति साझा पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ । पार्टीले भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप बताएको छ ।
साझा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,' यी भूभाग लगायत नेपालका दर्जनौं ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको साझा पार्टीले निरन्तररुपमा विरोध गर्दै आएको छ। हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टिकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं।'
साथै नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको सीमा क्षेत्रका पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै हाल सम्मको कार्यप्रगतीबारे आमनागरिकलाई जानकारी गराउन पनि पार्टीले नेपाल सरकारलाई अनुरोध गरेको छ ।
नेपाल-भारत बीचको सदियौंदेखि रहिआएको घनिष्ट सम्बन्ध अझ नयाँ उचाईमा पुर्याउनु पर्नेमा भारत सरकारको यो कदम प्रत्युत्पादक हुने साझा पार्टीको ठहर छ। मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसंग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्ने साझा पार्टीको मान्यता छ।