arrow

'रबिन्द्रका अधुरा सपना पूरा गर्न उम्मेदवारी'

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
rabindra1.png

कास्की ।  कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट स्वर्गीय नेता रबिन्द्र अधिकारी पत्नी  विद्या भट्टराईले उम्मेदवारी दिएकी छन् ।

नेकपाले स्वर्गीय नेता रबिन्द्र अधिकारीको स्थान, प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जिल्ला पार्टी कार्यालयबाट जुलुससहित निस्केको र्‍याली निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्ता गरेको थियो । दर्तापश्चात् घोषणासभामा परिणत भएको थियो ।  

प्रतिनिधिसभा सदस्यका लागि पार्टीका तर्फबाट विद्या भट्टराईको उम्मेदवारी दर्तापछि आयोजित उम्मेदवार घोषणासभामा रबिन्द्र पत्नी विद्याले जनताका अपेक्षा र विश्वासलाई कुनै पनि हालतमा डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

राजनीतिबाट विचलन नभइकन जनता र मुलुकको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले स्व अधिकारीका अधुरा सपना पूरा गर्न आफ्नो उम्मेदवारी भएको स्पष्ट पारिन् ।

गण्डकी प्रदेश सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले विकासप्रेमी नेता स्व रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न पार्टीले विद्या भट्टराईलाई निर्वाचनमा अगाडि बढाएको बताउँदै उनले मतको संरक्षणका लागि मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औँल्याए ।

 नेकपा गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले अधिकारीको निधनबाट पार्टी र मुलुकलाई अपूरणीय क्षति पुगेको बताउँदै पीडा र अभावलाई पूरा गर्न पार्टीको उम्मेदवारलाई विजयी बनाउन लाग्नुपर्नेमा जोड दिए।

फागुन १५ गते  पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि प्रतिनिधिसभातर्फ कास्की २ मा स्थान रिक्त छ। नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको हो ।

साथै कास्की क्षेत्र नं २ मा  २२ जनाको उम्मेदवारी परेको छ । नेकपाको तर्फबाट विद्या भट्टराईसहित नेपाली काङ्ग्रेसका तर्फबाट खेमराज पौडेल, समाजवादी दलका तर्फबाट धर्मराज गुरुङ, साझा पार्टीका तर्फबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रोमबहादुर भण्डारीको उम्मेदवारी परेको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली काङ्ग्रेस विपीका तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्टिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट गङ्गा मल्लले उम्मेदवारी दिएका छन् ।

त्यस्तै स्वतन्त्रबाट उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला तथा सुनिल भुसालले उम्मेदवारी दिनुभएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ