arrow

बागलुङ २ 'ख' मा बाम गठबन्धनबिरुद्व शेरमान घर्तिको उम्मेदवारी

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
Serman-Gharti-baglung-bagi.jpg

बागलुङ । आगामी मंसिर १४ मा हुन लागेको प्रदेश सभा सदस्य बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) को उपनिर्वाचनका लागि नेकपाका शेरमान घर्तिले स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता बागडोर सम्हालेको नेकपा र राष्ट्रिय जनमोर्चा बीच केन्द्रिय स्तरबाटै बाम गठबन्धन बनाएर जाने सहमति भएसँगै बामगठबन्धनको साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य खिमविक्रम शाहीको उम्मेदवारी दर्ता गराएका छन । घर्तिले भने स्वतन्त्र उम्मेदवारको रुपमा नेकपाकै अर्का नेता ददिराम शर्माको प्रस्तावक र रिम बहादुर विकको समर्थनमा आफ्नो उम्मेदवार दर्ता गराएका छन ।

पश्चिमको राजनीतिमा सक्रिय नेकपाका घर्तिले पार्टीले सदैव उपेक्षा गरेकाले गठबन्धन बिरुद्ध बागी उम्मेदवारी दिएको बताए । घर्ति १२ बर्ष राजमोमै सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए । पछि पार्टी प्रति असन्तुष्टि जनाउदै तत्कालिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादीका तर्फबाट स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरमा समेत चुनाव लडेका थिए । ‘पश्चिम क्षेत्रलाई केन्द्र र जिल्लालाई जहिले पनि बार्गेनिङको बिषय बनाएर भावना माथि खेलवाड गरिरह्यो,’ उम्मेदवार घर्तिले पत्रकार सँग भने, ‘हामी जुन पार्टीको बिचार र कार्यदिशामा असहमति राखेर छोड्ने, अहिले त्यही पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपर्ने र भोट हाल्नु पर्ने ? अब दास नबन्ने सोचका साथ  पार्टीको न्यायोचित निर्णय नभएकाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ ।’ उनले आँफ्नो उम्मेदवारी फिर्ता नहुने समेत दाबी ग रेका छन ।

बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णय अनुसार, राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल लगायतका नेता, कार्यकर्ताको उपस्थितिमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका राजमोका खिमबिक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको थियो ।

उपनिर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट शाही, काँग्रेसबाट यस अघिको निर्वाचनमा पराजित भएका जितबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोक बिक, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, स्वतन्त्र सन्तोष भण्डारी, मंगोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ