arrow

मन्त्रिपरिषद् निर्णय : कूटनीतिक नियोगमा कार्यरत कूटनीतिक कर्मचारीका सदस्यलाई रोजगारका लागि अनुमति

तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण प्रक्रिया प्रारम्भ

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
banskota2.jpg

काठमाडौं । सरकारले  नेपाल र जर्मनीबीच कूटनीतिक नियोगमा कार्यरत कूटनीतिक कर्मचारीको परिवारका आश्रित सदस्यलाई रोजगारका लागि अनुमति दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । यही कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सो जानकारी गराएका हुन्।

साथै मन्त्रिपरिषद् बैठकले नेपाल र रूसी महासङ्घबीच सम्पन्न सरकारी तथा कूटनीतिक राहदानी वाहकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतापत्रलाई नोट आदानप्रदानमार्फत संशोधन गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

 तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । सम्मेलन केन्द्र निर्माण गर्न सरकारले ललितपुरको गोदावरी नगरपालिकामा पर्ने आफ्नो स्वामित्वमा रहेको कित्ता नं ३२ को कूल २८२ रोपनी ६ आना ३ पैसा जग्गामध्ये वनस्पति उद्यान क्षेत्रदेखि पश्चिमतर्फको र केशर दरबारको कम्पाउन्ड वालदेखि उत्तरतर्फको २५ रोपनी जग्गा शहरी विकास मन्त्रालयको नाममा स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरेको उनले जानकारी गराए ।

यसैगरी सरकारले एशियाली पूर्वाधार लगानी बैंकबाट विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११ करोड २३ लाख अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

१३औँ दक्षिण एशियाली खेलकूद, २०१९ आयोजना तथा व्यवस्थापनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको तथा लेखाप्रमुख सेनानी गोपालप्रसाद सिग्देललाई लेखा महासेनानी दर्जामा पदोन्नती गरिएको मन्त्री बाँस्कोटाले जानकारी गराए ।  

सरकारले नेपाल इञ्जिनीयरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सुधीर रजौरे र नेपाल इञ्जिनीयरिङ सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूहका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका चुर्णबहादुर ओलीलाई सङ्घको समान श्रेणी र पदमा समायोजन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नेपाल इञ्जिनीयरिङ सेवा, केमेष्ट्री समूहको राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कुमारीज्योती श्रेष्ठ र केशवकुमार न्यौपानेलाई सङ्घको समान श्रेणी र पदमा समायोजन गर्ने निर्णय गरिएको छ ।

बैठकले नेपाल मेडिकल काउन्सिलको रिक्त अध्यक्ष पदमा प्रा डा भगवान कोइरालालाई मनोनित गर्ने निर्णय गरेको उनले जानकारी गराए । यसैगरी युवा रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यसहितको रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंकबाट प्रस्ताव भएको करीब रू १३ अर्ब ६२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

पराराष्ट्र मन्त्रीको रुसी महासङ्घको औपचारिक भ्रमणका अवसरमा रुसी महासङ्घसँग सांस्कृतिक आदानप्रदान कार्यक्रमसम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट रुसी महासङ्घका लागि नेपालका राजदूतलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले बताए।

मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०७६ को दफा १८ को उपदफा (१) बमोजिम करको दर घटाउने, बढाउने वा छुट दिने, करसम्बन्धी विषयमा सैद्धान्तिक सहमति प्रदान गर्ने र अन्तःशुल्क नियमावली, २०५९ संशोधन गर्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको उनले बताए।

बैठकले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको आधार, सीमा, मार्गदर्शन, विधि र हिस्सा स्वीकृत गरेको एवं राष्ट्रिय शिक्षा नीति, २०७६ स्वीकृत गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ