arrow

विशङ्खु नारायणथानमा हरिबोधिनी एकादशीको दिन ठूलो मेला

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
lalitpur-map.png

ललितपुर । विशङ्खु नारायणथानमा शुक्रबार हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्दैछ । हरेक वर्ष यहाँ एकादशीको दिन नारायणको पूजा र आराधना गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।     
     
 कात्तिक महिना लागेसँगै भाइटीकापछि यहाँ भक्तजनको चहलपहल बढ्ने गरेको मन्दिरका पुजारी राजेन्द्र सुवेदीले जानकारी दिए । “यस मन्दिरमा अन्य दिनभन्दा शनिबार बढी भक्तजन घुम्न र दर्शन गर्न आउने गर्छन्”, सुवेदीले भने, “नेपालका चार नारायणमध्ये विशङ्खुनारायण माइला नारायणका रूपमा पुजिने गर्छन् ।”

 हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडाँैको दक्षिणकालीमा रहेको शेषनारायणलाई साइँला नारायण र इचङगुनारायणलाई कान्छो नारायणको रूपमा पुज्ने गरेका छन् । हरिबोधिनी एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनामा हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहेको छ ।     
     
 शुक्रबारको मेलाका लागि सरसफाइलगायत आवश्यक सम्पूर्ण तयारी अघि बढेको वडाध्यक्ष देवेन्द्रकुमार बस्नेतले जानकारी दिए । “यहाँ हुने मेला व्यवस्थापनका लागि नगरपालिकाले रु ५० हजार सहयोग गर्ने भएको छ”, बस्नेतले भने, “बत्ती, तार, पानी, डोरी र मेलामा खटिएका व्यक्तिलाई खानाखाजाको खर्च यसैबाट जुटाउने योजनामा अघि बढेका छौँ ।” सो क्षेत्र ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो ।     
     
 मन्दिर जमीन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छ । यस मन्दिरमा प्रत्येक दिन बिहान नित्य पूजा र साँझमा नारायणको आरती हुने गरेको विशङ्खुनारायण सेवा सुधार समितिका सल्लाहकार पुरुषोत्तम विष्टले जानकारी दिए ।     
     
 विष्टले भने, “भगवान नारायणको प्रिय बाजा नगरा रहेकाले यहाँ प्रत्येक दिन नारायणको पूजासँगै नगरा बजाउने चलन रहेको छ ।” यो मन्दिर लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । देवी भागवत्मा उल्लेख भएअनुसार कात्तिक महिनामा दान, पुण्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुन्छ । नारायणको दर्शन गर्न उपत्यकाका तीन जिल्लाका साथै नजिकका जिल्ला मकवानपुर, हेटौँडा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र नवलपरासीलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर धेरै भक्तजन दर्शन गर्न आउने गरेको स्थानीयको भनाइ छ ।     
     
 ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने गर्छ । स्थानीयवासी भन्छन्, “यस दिन कम्तीमा एकदेखि डेढ लाख मानिसले विशङ्खुनारायणको दर्शन गर्ने गर्छन् ।” एकादशी बिहानदेखि द्वादशीको मध्यदिनसम्म विशङ्खुमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ ।     
     
 एकादशीको दिन मन्दिरदेखि चार किलोमिटर पर जुनसुकै सवारीसाधन आउन रोक गरिन्छ । पञ्चायतकालमा राजदरबारबाट पूजा सामग्री आउने सो मन्दिरमा हाल गुठी संस्थानबाट १२ बजेदेखि २ बजेभित्रमा पूजा सामग्री आउने वडाध्यक्ष बस्नेतको भनाइ छ ।     
     
 “विगतमा राष्ट्रिय पोशाक लगाएर १० देखि १५ जनाको समूहमा पूजा सामग्री बोकेर पूजा गर्न आउने यस मन्दिरमा हाल पुरानो चलन नरहँदा निकै दुःख लाग्छ”, बस्नेत भन्छन्, “भगवानलाई अर्को थरिको बाजा बजाउने चलन थियो त्यो पनि हरायो ।

भगवानलाई पहिराउने कति सुन र चाँदीका गहना थिए त्यो पनि कहाँ गयोे, यस नारायणको नाममा जग्गा छ भनेको सुनिन्छ । त्यो कहाँ कति छ थाहा नभएकाले अब खोजी गर्ने छौँ ।” नारायणको पूजा भने परापूर्वकालदेखि सुवेदी थरका मानिसले गर्ने गरेका छन् ।     
     
 सिलवाल र विष्टको बाहुल्यता रहेको विशङ्खुनारायण थानमा लगभग छ हजार ८०० जनसङ्ख्या रहनुका साथै झण्डै एक हजार २०० घरधुरी रहेका छन् । यस स्थानको भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीयवासी ८४ वर्षीय गोविन्द विष्टले जानकारी दिए ।     
     
 “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सृष्टि भएको हो”, विष्टले भने, “भगवानको नाममा कति वन र जग्गा छ अब त्यसको खोजी हुनुपर्छ ।” त्यसबेलाका मन्दिरका पुजारीले २०२१ सालको नापीअनुसार मालपोत तिनुपर्छ भन्ने डरले सो जग्गाको खोजी नगरी आफ्नो नाममा भएको जग्गा मात्र कमाएका कारण यकिन हुन नसकेको बताइएको छ ।     
     
 विशङ्खुनारायण थान मेलाका दिन करीब १०० देखि १५० मानिसले मन्दिर आसपासको सडक पेटीमा पसल थाप्ने गरेको समितिले जानकारी दिएको छ । सो मेलामा मुख्य गरी बदाम, वनतरुल, पिँडालु, सखरखण्ड, उखु, खुवा र स्थानीय बारीमा उत्पादन भएका फलफूल र तरकारी बिक्री हुने गर्छ । सो मन्दिर पुग्न ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ ।     
     
 मन्दिरमा बिहान व्यायाम र दर्शन गर्न, दिउँसो घुम्न र सिने जगतका व्यक्ति चलचित्र छायाङ्कन गर्न पनि आउने गरेका बताइएको छ । विशङ्खुनारायणलाई ककारोभित्र शालिकराम राखेर पूजाआजा गर्ने गरिएको छ । सो क्षेत्रमा भगवान नारायणसँगै अन्य देवीदेवता लक्ष्मीनारायणको पाइला, हनुमान, प्राकृतिकरुपमा निर्माण भएको गणेशको मूर्ति अनि पाप र धर्मद्वारका नामले परिचित एक गुफा रहेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ