arrow

डा. केसीको जीवनरक्षाको माग गर्दै डडेल्धुराबासी सडकमा

छाया गृहमन्त्री बडुले जनाए एक्यवद्धता

logo
राम धामी,
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
dr-kc-Dilendrabadu.jpg

डडेल्धुरा। चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७औं चरणको अनशन पाँचौ दिन पुग्दासम्म सरकारले वेवास्ता गरेको भन्दै शुक्रबार डडेल्धुराबासीहरु सडकमा उत्रिएका छन् ।  

नागरिक समाज डडेल्धुरा र जिल्लास्थित पेशाकर्मी एवं व्यवसायीक संघ सस्थाहरुको अगुवाइमा सदरमुकामस्थित बसपार्कबाट वृहत दबाब र्‍याली निकालिएको छ । र्‍यालीमा सहभागीहरुले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा परिसर पुगेर नाराबाजी र प्रदर्शन समेत गरेका छन् ।

‘डाक्टर गोविन्द केसीले राखेका सम्पुर्ण मागहरु पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागी निर्णय गर तथा सत्याग्रही डा. केसीको जीवनको रक्षा गर’ लगायतका नारा लगाएर स्थानीय सडकमा उत्रिएका हुन्। व्यवसायीक तथा पेशागत संघ संस्थाहरुले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापनपत्र बुझाइ सके पश्चात कोण सभाको आयोजना समेत गरिएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउदै माग सम्बोधन गराउनका लागि आफुले सक्दो पहल गर्ने बताए ।

स्वास्थ्य अवस्था प्रतिकुल हुदै गएका सत्याग्रही डा. केसीका सबै मागहरु न्यायोचित रहेकाले उहाँको जीवन रक्षा गर्नु राज्यको दायित्व भएको नागरिक समाजका अगुवाहरु बताउछन । प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै दबाबमुलक र्‍याली निकालिएको र सरकारले माग सम्बोधन गर्न वेवास्ता गरेमा कडा आन्दोलनमा उत्रिने र्‍यालीमा सहभागी स्थानीय समाजसेवी पदमा गुरुङले बताइन्।

दबाब र्‍यालीमा सुदूरपश्चिम प्रदेशका सासंद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल समेत सहभागी थिए । बिहिबार पनि नागरिक समाजको अगुवाइमा डडेल्धुरा सदरमुकाममा र्‍याली निकालिएको थियो ।

डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरुले सत्याग्रह स्थल पुगेर डा. केसीलाई भेट्दै ऐक्यबद्धता जनाइरहेका छन् । यसअघि डोटीका बिभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाएका थिए। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार डडेल्धुरा पुगेको टोलीले डा.केसीले राखेका मागमा ऐक्यबद्धता जनाएको हो। सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका थिए।

शुक्रबारनै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले अनशनरत डा.केसीलाई भेटेका छन् । शुक्रबार दिउँसो अनशनरत केसीलाई भेटेर उनले अनशनप्रति ऐक्यबद्धता समेत जनाएका हुन् ।

बडूले डा. केसीको अनशनप्रति आफ्नो र पार्टीको सुरुदेखि नै समर्थन रहेको बताए । केसीले उठाएका मेडिकल शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र सबैले पढ्न सक्ने बनाउनुपर्छ भन्ने माग जायज भएको नेता बडूले बताए । उनले डा.केसीले पठाएका सात बुँदे मागहरु सरकारलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्न आग्रह समेत गरे ।

‘मेडिकल कलेजहरु अहिले पनि तोकेको शुल्क भन्दाब बढी लिइरहेको छन् । तर बढी लिएको शुल्क फिर्ता गर्न तयार छैनन् ।’ उनले भने,‘सरकार हामी फिर्ता गराउँछौँ भन्छ तर गराउन सकिरहेको छैन ।’ उनले दुई तिहाइको वर्तमान सरकार गरिब विद्यार्थीको हित नभएको आरोप लगाए। काठमाडौँ गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई केसीले अघि सारेका ७ बुँदे मागबारे जानकारी गराउने उनले बताए।

‘२५ गतेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको छ । त्यहाँ प्रधानमन्त्रीज्यू पनि आउनुहुन्छ ।’ बडूले भने, ‘उहाँलाई डा.सापले उठाएका माग सम्बोधन गर्न आग्रह गछौँ ।’ सदरमुकामस्थित डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी सत्याग्रहमा छन् ।

अत्यान्तै चिसोठाँउमा सत्याग्रहमा बस्दा डा. केसीको स्वास्थ्यमा समस्या थपिदैं गएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए । उनले पिसाबमा संक्रमण बढ्दै गएको र रक्तचाप न्युन हुँदै गए पनि चोथो दिनको तुलनामा पाँचौ दिन सुगरको मात्रा भने केहि घटेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ