arrow

कन्फेडेरेसन अफ एसियन जर्नालिस्टस युनियनको उपाध्यक्षमा नेपालका अशोक सिलवाल

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
silwal1.jpg

कोलम्बो । श्रीलंकाको राजधानी कोलोम्बोमा कन्फेडेरेसन अफ एसियन जर्नालिस्टस् युनियन  (काजु)को औपचारिक घोषणा गरिएको छ । कन्फेडेरेसनमा प्राथमिक रुपमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकार युनियन र स्वतन्त्र पत्रकारको प्रतिनिधित्व गर्ने सरोकारवालाको प्रतिनिधित्व छ ।

श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए)ले पत्रकारहरुको क्षेत्रीय युनियनहरुसँग मिलेर केही समयदेखि निष्क्रिय रहेको कन्फेडेरेसन अफ एसियन जर्नालिस्टस् एसोसिएसनलाई ब्युँताएको हो ।

१९७० को दशकको प्रारम्भतिर भेट्रान श्रीलंकाली पत्रकार स्वर्गीय डिएफ कारियाकारावानाको ब्रेनचाइल्डको रुपमा स्थापना भएको यो संस्थाले यस क्षेत्रका पत्रकारहरुले सामना गरिरहेका साझा मुद्दालाई सम्बोधन गर्ने उद्देश्य बोकेको छ ।

श्रीलंकाली राजधानी कोलम्बोमा २५ अक्टोबरमा सम्पन्न श्रीलंका प्रेस एसोसिएसनको ६४औं वार्षिक सम्मेलनका क्रममा (काजु)लाई ब्युँताइएको हो । उक्त सम्मेलनमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकारको सहभागिता थियो ।
 
नवनियुक्त अध्यक्ष मुदिता कारियाकारावानाले यसका सदस्यहरु संस्थालाई दक्षिण एसियाली पत्रकारको साझा मञ्च बनाउन यसलाई पूर्ण रुपमा क्रियाशील बनाउन प्रतिबद्ध रहेको बताए । कारियाकारावाना एसएलपिएका समेत अध्यक्ष हुन् ।
उद्घाटन बैठकमा बोल्दै कन्फेडेरेसेसनका नवनियुक्त महासचिव तथा भारतीय पत्रकार परमानन्द पाण्डेले यस क्षेत्रका पत्रकारको चुनौती समान रहेको बताए । पाण्डे इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे)का महासचिव हुन् ।

नवनियुक्त उपाध्यक्ष नेपालका अशोक सिलवालले दक्षिण एसियाका पत्रकारको समस्या समान रहेकोले समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए । सिलवाल स्वतन्त्र पत्रकार हुन् ।  कार्यक्रममा रोजगारी सुनिश्चितताको अभाव र हचुवा बर्खास्तगीलाई यस क्षेत्रका पत्रकारको साझा समस्याको रुपमा चित्रण गरिएको थियो ।

सार्क मुलुकका पत्रकारहरुको संगठन यो कन्फेडेरेसन पूर्ण सञ्चालनमा आएपछि हरेक मुलुकमा च्याप्टर खुल्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ