arrow

संसारकै सबभन्दा ठूलो आईपीओमा लगानी गर्न डराउदै लगानीकर्ता

अराम्कोको आईपीओ र देखिएको आशंका

logo
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
saudi-aramco-company.jpg

काठमाडौं। साउदी अरेबियाको तेल कम्पनी अराम्कोले आफ्नो आईपीओको घोषणा गरेको छ। अराम्को संसारमै सबभन्दा बढी नाफा कमाउने कम्पनी हो। यो संसारकै सबभन्दा ठूलो आईपीओ हो। गत आइतबार रियाद स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना सुनाएको हो। यो कम्पनी साउदीका शाही परिवारको स्वामित्वमा छ। अराम्कोको मूल्य करिब १३ खर्ब डलर भएको बताइन्छ।

हालसम्मको तथ्यांकअनुसार संसारकै धनी कम्पनी एप्पल हो जसले पोहोर मात्र आफ्नो सम्पत्ति १० खर्ब डलर पुर्‍याएको थियो। त्यसपछि अमेजन र गुगल पनि यो सूचीमा परिसके। अराम्कोले शेयर जारी गर्ने भए पनि यो आन्तरिक बजारका निम्ति मात्र खुला हुनेछ। कम्पनीले विदेशी बजारमा अहिल्यै आइहाल्ने योजना छैन।

घरेलु शेयर बजारमा कम्पनीको १ देखि २ प्रतिशत शेयर सूचीकरण गर्ने र कम्तीमा २० देखि ४० अर्ब डलर उठाउने आशा साउदीको छ। आईपीओबाट कम्पनीले २५ अर्ब डलर भन्दा धेरै उठाए यसले सन् २०१४ मा चिनियाँ अनलाइन कम्पनी अलिबाबाको आईपीओलाई पछि पार्नेछ।

सन् २०१६ मा नै यसको घोषणा गरिए पनि आईपीओ जारी हुन भने निकै समय लाग्यो। साउदी राजकुमार मोहम्मद बिन सलमानले कम्पनीको ५ प्रतिशत शेयर बेच्न खोजेका छन्। घरेलु बजारपछि अन्तरराष्ट्रिय बजारमा पनि अराम्कोको आईपीओ निकालिनेछ। तर, त्यसका लागि अहिले विश्वभर केही आशंका पनि देखिएका छन्। जसको कारण लगानीकर्ता अराम्कोमा लगानीको लागि डराइरहेका छन्। यहाँ अराम्कोबारे लगानीकर्ताले देखाएको चार आशंका उल्लेख गरिएको छ–

१. विस्तृत विवरणको कमी 
अहिलेसम्म अराम्कोले आफ्नो आईपीओको बारेमा विस्तृत जानकारी दिन सकेको छैन। शनिवार यसबारेमा विस्तृत रुपमा कम्पनीले जानकारी गराउनसक्ने बताइएको छ। उसले कति कित्ता शेयर बिक्री गर्ने र त्यसको मूल्य कति रहने भन्नेसम्म पनि उल्लेख गरेको छैन। अहिलेसम्म यसको केवल अनुमान मात्रै गरिएको छ। त्यसका साथै लगानीकर्ताहरुको लागि यसबारे भित्री जानकारीहरु पनि दिइएको छैन।

यसले लगानीकर्ताको सोचाइमा प्रभाव पार्न सक्छ। अहिलेसम्म अराम्कोको मूल्यांकन यकिन हुन नसक्नु लगानीकर्ताको लागि सबैभन्दा चासोको विषय हो। कसैले अराम्कोको आईपीओ १० खर्ब डलर रहने बताइरहेका छन् त कसैले २० खर्ब। धेरैजसो भने १४ खर्ब डलर रहने बताउँछन्। यस किसिमको अन्योलको कारण लगानीकर्तामा आशंका बढेको हो। त्यसले आईपीओ खरीद गर्नुभन्दा पहिला लगानीकर्तालाई धेरै प्रश्न कम्पनीले दिन बाँकी रहेको विश्लेषकहरुको बुझाइ छ  अन्यथा लागानीकर्ता यसमा खासै आकर्षित नहुने उनीहरुको बुझाइ छ।

२. लाभांश 
अराम्कोको आईपीओ आउने हल्ला अहिलेको होइन। तर, तेलको मूल्य अस्थिर रहेको कारण यसमा ढिलाइ हुँदै आएको हो। साथै, मूल्यांकन, सूचीकृत हुने स्थान र भू–राजनीतिक गतिविधिको कारण आईपीओमा ढिलाइ भएको हो। गत सेप्टेम्बरमा पनि साउदी अराम्कोको तेलखानीमा ड्रोन तथा मिसाइल आक्रमण भएको थियो। यस किसिमको आशंका अझै पनि जारी छ। अझै पनि साउदीको भू–राजनैतिक समस्या नबल्झिएला भन्न सकिने अवस्था छैन। तर, साउदीले आफूले सबै किसिमको समस्या समाधान गर्ने प्रतिबद्धता जारी गर्दै आएको छ। अराम्कोले आफ्नो प्रमुख प्राथमिकता सन्तुलित र विस्तारोन्मुख लाभांश दिने रहेको बताउँदै आएको छ। सन् २०२० सम्ममा कम्पनीले ७५ अर्ब डलरको लाभांश वितरण गर्नसक्ने अनुमान गरिएको छ।

सन् २०१८ मा अराम्कोको मुनाफा १ खर्ब ११ अर्ब डलर थियो। यो मुनाफा एक्जोन वा शेल कम्पनीको तुलनामा ५ गुणा बढी हो। अराम्कोसँग ५२ वर्षको भण्डारण क्षमता छ। साथै, उसको तेल उत्खनन पनि सबैभन्दा सस्तो छ। अराम्कोसँग अहिले २ खर्ब १ अर्ब ब्यारेलको प्रमाणित तेल भण्डारणको क्षमता छ। यसले विश्वको उत्पादनको ८ भागको एक भाग उत्पादन गर्ने गरेको छ। यस्तोमा यो कम्पनी एक्लैले पनि विश्वको तेल उत्पादनमा ठूलो अर्थ राख्न सक्छ। यस्तोमा यसको लाभांशबारे स्पष्टरुपमा जानकारी नदिनुले कम्पनीमा लगानीको लागि लगानीकर्ता केही डराएका हुन्।

३. भू–राजनीति
साउदी अरेबियाको भू–राजनीति पनि अराम्कोमा लगानीको आशंका देखिनुको कारण हो। साउदी अरेबियाको क्षेत्रीय प्रतिस्पर्धी इरानसँगको सम्बन्धले साउदी अराम्कोको व्यापारमा असर पार्नसक्ने बताइएको छ। इरानसँगको सम्बन्धको आधारमा लगानीकर्ताले अराम्कोको लगानीबारे सोच्ने विश्लेषकहरुले बताएका छन्। केही समयअघि मात्रै साउदीको तेल कम्पनीमा ड्रोन तथा मिसाइल आक्रमण भएको थियो। यस्तोमा आगामी दिनमा राजनीतिक पूर्वाग्रहमा साउदीमा आक्रमण हुने चिन्ता लगानीकर्तालाई छ। उसका लागि अर्को समस्या सृजना गर्न सक्छ। सेप्टेम्बरमा भएको आक्रमणको कारण पूरै एक साता तेल बजार अस्थिर देखिएको थियो।

४. तेलको भाउ
तेलको भाउ सन् २०१४ यता निरन्तर घट्दै आएको छ। आपूर्ति तथा मागमा आएको कमीसँगै तेलको भाउमा कमी आएको हो। तेलको भाउमा व्यापक कमी आएसँगै साउदी अरेबिया र अन्य पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) का सदस्यले तेल उत्पादनमा कटौती गर्दै आपूर्ति मागको अवस्थालाई सन्तुलनमा राख्ने प्रयास गरिरहेका छन्।

जसको कारण तेलको भाउ पनि केही सन्तुलित अवस्थामा देखिएको छ। तर, अमेरिकाले भने आफ्नो तेल उत्पादन रोकेको छैन। साथै अझै पनि तेलको आपूर्ति र मागमा कमी आउनसक्ने थुप्रै कारण यथावत छन्। अमेरिका–चीन व्यापारयुद्धको कारण तेल बजार प्रभावित बन्न पुगेको हो। यो व्यापारयुद्धले तेलको बजार मात्र नभई विश्वको समग्र आर्थिक वृद्धि पनि प्रभावित बन्न पुगेको छ।

शुक्रबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ६१ डलर ४५ सेन्टमा कारोबार भइरहेको थियो। अमेरिकी कच्चा तेल वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को भाउ भने प्रतिब्यारेल ५६ डलर ४६ सेन्टमा कारोबार भइरहेको थियो। पाँच वर्षअघि कच्चा तेलको भाउ प्रतिब्यारेल १०० डलरभन्दा बढी पुगेको थियो।  

कच्चा तेलको भाउ प्रतिब्यारेल २७ डलरसम्म आइपुगेपछि आपेक तथा उसका सहयोगी मुलुकले आफ्नो तेल उत्पादनमा कटौती गर्दै आएका छन्। अहिले उनीहरुले संयुक्तरुपमा १२ लाख ब्यारेल तेल प्रतिदिनको दरले कटौती गर्दै आएका छन्। तर, अपेक्षा गरिए अनुसार तेलको भाउ बढ्न भने सकेको छैन। तेलको भाउबारे देखिएको यस किसिमको अनिश्चयको कारण पनि तेल कम्पनीमा लगानीकर्ताको त्यति धेरै आकर्षण देखिएको छैन। तेलको माग पनि अब बिस्तारै घट्दै जाने केही प्रतिवेदनले देखाएका छन्। त्यसैले तेल कम्पनीमा लगानी गर्न धेरै सोच्नुपर्ने विश्लेषकहरुले बताउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ