arrow

स्वास्थ्यकर्मीको योगदान नेताको भन्दा कम छैनः देउवा

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
swasthakarmi-sangh-mahadhibesan1.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्वास्थ्यकर्मीहरुको योगदान नेताहरुको भन्दा कम नरहेको बताएका छन्।

नेपाल स्वास्थ्यकर्मी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले भने, ' स्वास्थ्यकर्मीहरु आफ्नो पेशा मार्फत हरेक कुना कुनामा पुगेर सेवा गर्नुकासाथै हरेक लोकतान्त्रिक आन्दोलनमा समेत सक्रिय भएको छ यो योगदान कुनै नेताको भन्दा कम होइन ।' 

सभापति देउवाले सरकार समायोजनको नाममा स्वास्थ्यकर्मीलाई मात्र नभई हरेक क्षेत्रमा फरक व्यवहार गरिरहेको उल्लेख गर्दै स्वास्थ्यकर्मी भनेको जनताको पहिलो सम्पर्क व्यक्ति भएकोले जहाँ पठाए पनि जिम्मेवार भई राम्रो काम गरेर देखाउन अपिल गरे।

महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार आस्थाको आधारमा सरुवा र समायोजनको नाममा कर्मचारीहरुलाई पुर्वाग्रही व्यवहार गरिरहेकोले त्यस विरुद्धको अभियानमा पार्टीको साथ हुने बताए।

महामन्त्री डा शशांक कोइरालाले सरकार दुई तिहाईको दम्भमा आफुलाई संविधान भन्दा माथी सोचेर सबै निकायमा हस्तक्षेप गरिरहेको आरोप लगाए।

ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले स्वास्थ्यकर्मीहरुको परिश्रम अनुसारको सुविधा दिनुपर्ने र स्वास्थ्य स्वयंसेविकाहरुलाई सित्तैमा काम लगाईरहेकोले उचित पारिश्रमिक दिनुपर्ने बताए।

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले नेपालको राजनीतिक आन्दोलनमा श्रमिक संगठनहरुको ठुलो योगदान भए पनि सत्तामा पुगेपछि दलहरु श्रमिक अधिकार र ट्रेड युनियन अधिकारबाटै बन्चित गर्न खोज्नु दुर्भाग्य भएको बताए।

नेपाल  मेडिकल एसोसियसनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अन्य ठाउँमा जस्तो स्वास्थ्यमा समायोजन आवश्यक नरहेको बताए।

नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले शिक्षा र स्वास्थ्य राज्यले निशुल्क व्यवस्था गर्नु पर्ने माग गरे।ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष नेत्र विक्रम थापाले स्वास्थ्यकर्मीलाई समायोजनको नाममा सरकारले पक्षपाती व्यवहार गरिरहेको बताए।  महासचिव योगेन्द्र कुवरले विपि,गणेशमान र गिरिजाबाबु एसियाकै नेता बन्नु भएको उदाहरण दिनुहुदै वर्तमान नेतृत्व एसिया त के पार्टीको समेत नबनी केवल झुण्डाको मात्र नेता बनेकाले संगठन र पार्टी खस्केको बताए ।

कार्यक्रममा नेविसंघका निवर्तमान उपाध्यक्ष डिल्ली सुवेदी, ट्रेड युनियन कांग्रेसका उपमहासचिव राधिका खनाल,स्वास्थ्यकर्मी संघका पुर्व अध्यक्ष परशुराम पोख्रेल, नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल पोख्रेल लगायतले वर्तमान नेकपाको सरकार आस्थाको आधारमा कर्मचारीलाई दुख दिने र जनताको भन्दा नजिककाहरुको काम गरिरहेको आरोप लगाए।

कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।महाधिवेशनले आगामी चार वर्षकालागी नयाँ नेतृत्व चयन गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ