arrow

१२ वर्ष देखि भएको छैन कालापानी र सुस्तामा सीमा नापीको काम

logo
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
survey-department.jpg

काठमाडौं। नेपालको भूभाग सुस्ता र कालापानीमा २०६४ साल देखि सीमा नापीको काम हुन सकेको छैन। नेपाल र भारतको संयुक्त सीमा नापी कार्यदलले  पटक पटक १ हजार ८ सय ८० किमि लामो नेपाल-भारत सिमा क्षेत्रमा वैज्ञानिक सीमा मापनको काम गर्ने गरेको छ। तर कार्यदलले सुस्ता र कालापानीमा भने १२ वर्ष देखि सीमा नापीको काम गरेको छैन।

कालापानी र सुस्तालाई  छाडेर अन्य ठाउँमा सीमा मापनको काम भइरहेको नापी विभागले जनाएको छ। १ हजार ८ सय ८० किमि लामो नेपाल-भारत सीमामा ८ हजार ५सय ५३ वटा सीमा स्तम्भ (पिलर ) रहेको सरकारी तथ्याकं छ। ती पिलर मध्ये करिव १ हजार ५ सय स्तम्भ हराएका छन्।

विभागका अनुसार सुस्ता र कालापानी क्षेत्रमा विवादको कुटनैतिक र राजनीतिक समाधान गर्न परराष्ट्र मन्त्रीस्तरीय संयन्त्रले मन्त्रालयका सचिव स्तरीय कार्यदललाई जिम्मा लगाएको छ। यस काममा सचिव स्तरीय संयन्त्र गठन गरिएको विभागको भनाइ छ। विभागका एक कर्मचारीका अनुसार सुस्ता र कालापानीको विवाद मिलाउन २०३८ साल देखि २०६४सालसम्म सीमा मापनको काम भएका हुन तर २०६४ साल देखि काम अघि बढ्न सकेको छैन।

सुस्ता र कालापानी नेपालको भूभाग हो भन्ने नेपालको दाबीलाई भारतीय पक्षले नमाने पछि यी दुइ क्षेत्रमा सीमा मापनको काम अघि नबढेको विभागको भनाइ छ। भारतीय पक्षले कालापानीलाई आफ्नो भुभागमा पारेर नक्सा सार्वजनिक गरेको छ। जुन नक्सालाई नेपाल सरकारले अमान्य घोषणा गरेको छ। 

इतिहासविदका अनुसार  नेपाल-भारत सिमा क्षेत्रमा सुगौली सन्धीदेखि नै सिमा स्तम्भ (पिलर) राख्न शुरु गरिएको छ। सुगौली सन्धीमा कालापानी र सुस्ता नेपालको भुभागमा पर्छ। यसको प्रमाण नेपालसँग भएको सरकारको भनाइ छ। सरकारले पछिल्लो पटक २०७१साल देखि नेपाल -भारत सीमा क्षेत्रमा वैज्ञानिक मापन सुरु गरेको छ। यसकोलागि ५ वर्ष अघि  नेपाल-भारत संयुक्त सीमा कार्यदलल गठन गरिएको थियो। यस अघि पनि पटक पटक सीमा मापानको काम भएको थियो।
 
२०७१ मा गठन गरिएको कार्यदलले हालसम्म सीमा क्षेमा राखिएका सीमा स्तम्भ मध्ये ८ हजार ५७ वटा सीमा स्तम्भको अध्ययन गरेको छ। बाँकि ४ सय ९६ सीमा स्तम्भ अध्ययन नभएको नापी विभाग अन्तर्गत स्थलरुप नापी शाखाका प्रमुख दयानन्द जोशीले जनाएका छन्।

विभागका अनुसार अध्ययन गरिएका ८ हजार ५७ वटा सीमा स्तम्भ मध्ये १ हजार ६ सय ९८ वटा मर्मत भएका र २ हजार ३५ वटा पिलर पुननिर्माण गरिएका छन्। त्यसमध्ये करिव १ हजार ५ सय पिलर हराएका छन्। विभिन्न कारणबाट ती पिलरहरु हराइएका, नष्ट गरिएका या बगाइएका हुनसक्ने विभागका कर्मचारीहरु बताउछन्।

कपिलबस्तु, पाँचथर, मोरङ, पूर्वी इलाम, डडेलधुरा, दार्चुला लगायतका जिल्लामा विछाइएका सीमा स्तम्भ गायव भएका हुन्। विभागका अनुसार सीमा क्षेत्रमा रहेका ठूला नदि र खोलामा पिलर राख्न बाँकि नै छ। सन् १८१६को सुगौली सन्धीलाई आधार मानेर हाल सिमाको बैज्ञानिक मापन गर्न शुरू गरिएको छ। यसरी सिमा मापन गर्दा नेपालले भोगचलन गरेको केही भूभाग भारततीर र भारतले भोगचलन गरेको केही भुभाग नेपालतीर आएको हुन सक्ने कार्यदललको भनाइ छ।

नेपाल-भारत संयुक्त कार्यदललले मंसिरबाट पुन सीमा मापनको काम सुरु गर्दैछ। यसकोलागि ४ वटा कार्यदल बनाइएको छ। जस अनुसार एउटा टोली पूवी क्षेत्रमा सुनसरीदेखि पुर्व इलाममा खटिने छ। सो टोलीले सुनसरी,मोरङ, झापा र इलाममा काम गर्ने छ। यसैगरी अर्को टोली सुनसरी देखि चितवनमा पुग्ने छ। तेश्रो टोली नवलपरासीदेखि कपिलबस्तु, बाँकेसम्मकोलागि खटिने छ। चौथो टोली कैलाली र कञ्चनपुरमा खटिने छ। 

विभागले यसअघि पनि ४ वटा टोली बनाइ विभिन्न ठाउँमा खटाएको थियो। सीमा  क्षेत्रमा हराएका स्तम्भहरू जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिमार्फत पत्ता लगाइ पुनस्र्थापना गर्ने, नबनाइएको ठाउँमा नयाँ राख्ने, बिग्रे-भत्केकाको मर्मत-सम्भार गरी सीमा क्षेत्रमा अतिक्रमण गरेर बसेकालाई हटाउन २०७१मा नेपाल-भारत संयुक्त सीमा कार्यदल गठन गरिएको थियो।

यसअघि २०३८ साल दखि नेपाल-भारत सिमा मापनको बैज्ञानिक मापन गर्न शुरू गरिएको थियो। यसकोलागि नेपाल-भारत संयुक्त प्राविधिक टोली गठन गरिएको थियो। टोलीले सीमानामा ८ हजार ५सय ५३ वटा पिलर गाड्नुपर्ने अध्ययन गरेको थियो। तर पछि त्यो टोली विघटन गरिएको थियो।

२०४५ सालमा सीमा मापन गर्न गठित नेपाल-भारत संयुक्त कार्यदलको बैठकले सुगौली सन्धी हुँदा जुन जुन ठाउमा खोला नदि थिए, त्यसलाई आधार मानी बैज्ञानिक मापन गर्ने निर्णय गरेको थियो। २०७१सालमा गठन गरिएको कार्यदलले पनि सुगौली सन्धीलाई आधार मानेर सीमा मापनको काम सुरु गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ