प्रधानमन्त्री ओलीले हटाए आफ्ना वैतनिक सल्लाहकार र सहयोगीहरु
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
904
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएसँगै उनका सचिवालयका सबै वैतनिक सल्लाहकार तथा सहयोगीहरुले शनिवार राजीनामा दिएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए।
राजिनामा दिने सल्लाहकार र सचिवालयका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई आगामी कदम चाल्न सहज होस् भन्नका लागि राजीनामा दिएको बताए।
राजीनामा दिनेमा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद भण्डारी, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयका रामशरण बजगाई लगायत छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यले भने अवैतनिक रहेका कारण राजीनामा दिएनन्। नीजि चिकित्सक डा दिव्या सिंहले पनि राजिनामा दिएकी छैनन।
सबै सल्लाहकार र सचिवालयका सदस्यले शनिवारै राजिनामा दिएको भनिएपनि कतिपयले भने मंसिरबाट लागू हुनेगरि उनीहरुको राजिनामा लिइएको बताएका छन्।
प्रधानमन्त्रीको सचिवालय पार्टी नेता कार्यकर्तामाथि नै असहिष्णु बनेको र प्रधानमन्त्रीलाई गलत विफ्रिङ गर्ने गरेको र सानो घेराबाट बाहिर जान नदिएको भन्दै सचिवालयको आलोचना हुने गरेको थियो ।
नेकपा भित्रै निकै आलोचना हुन थालेपछि यस बारेमा प्रधानमन्त्री ओलीले ढीलो गरि निर्णय लिएका छन्। प्रधानमन्त्रीको यो निर्णयलाई सरकारका मन्त्रीहरु तथा अन्य राजनीतिक नियुक्ती पाएका व्यक्तिहरुको बारेमा पनि जोडेर हेरिन थालिएको छ।