arrow

अपहरण शैलीमा केसीलाई लिन गएको हेलिकप्टर डडेल्धुराबाट रित्तै फर्कियो

डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार चिकित्सक आपुर्ती गरेपछि मात्रै वार्ता : डा. केसी

logo
राम धामी,
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
dr-kc-dadeldhura.jpg

डडेल्धुरा । डडेल्धुरामा आठदिनदेखि सत्याग्रहमा रहेका चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीलाई अपहरणको शैलीमा काठमाडौं लैजान डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै काठमाडौं फर्किएको छ ।

अनशनको सातौँ दिन आइतबारसम्म डा. केसीको स्वास्थ्यबारे सामान्य सोधनीसमेत नगरेको सरकारले डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीले माग पूरा नभई डडेल्धुरा अस्पताल छोड्न इन्कार गरेपछि हेलिकोप्टर उनलाई नलिई फर्किएको हो ।

डा. केसीलाई राजधानी लैजान सोमबार हेलिकोप्टर पठाइएको हो । डडेल्धुरा सदरमुकामदेखि ५ किलोमिटर दुरीमा रहेको दहस्थित नेपाली सेनाको गणमा हेलिकोप्टर ल्याण्ड गरिएको थियो । स्थानीय प्रशासनले डा. केसीलाई होलिकोप्टर मार्फत राजधानी लैजाने तयारी गरेपछि डा. केसीले इन्कार गरेका थिए भने डा. केसीको समर्थनमा आन्दोलित डडेल्धुराबासीले अवरोध पुगाएका थिए ।

सरकारले आफ्ना माग पूरा नगरुन्जेल डडेल्धुरा नछोड्ने र बरु सत्याग्रहकै क्रममा मृत्युवरण गर्न आफू तयार भएको डा. केसीले बताए । उनले अपहरणकारी शैलीमा आफुलाई राजधानी लगेर आन्दोलन असफल बनाउने सोच त्यागेर वार्ता मार्फत समस्या समाधानका लागि सरकारसँग माग गरे । “वार्ता टोली गठन गर्नुपुर्व डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक पठाउन सरकारलाई आग्रह गर्दछु,” स्वास्थ्य अबस्था गम्भीर रहेका डा. केसीले सोमबार अपरान्ह सञ्चारकर्मीहरुसँग भने,“अनिमात्रै सरकारसँग वार्ताका लागि वातावरण बन्नेछ ।” उनले डडेल्धुरामा दरबन्दीअनुसारका चिकित्सक नपठाएसम्म सरकारसँग वार्ता गर्नुका औचित्य नरहेको स्पष्ट पारे ।

स्थानीय प्रशासनले जबर्जस्ती गर्न खोजेपछि सत्याग्रहीको इच्छा विपरीत लान नपाइने भन्दै डडेल्धुराबासी विरोधमा उत्रिएका हुन । स्थानीयको अवरोधपछि प्रशासन पछि हटेको हो । समस्या समाधानमा पहलकदमी लिनुपर्ने सरकारले आफैँले गरेको सझौता कार्यान्वयन नगरेर समस्या थप बल्झाएको डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताए । अनशनको ८ दिनसम्म वार्ताको सामान्य पहलसमेत नगर्ने सरकारले उनको स्थानान्तरणका लागि भने जबर्जस्ती गर्न नमिल्ने अडान स्थानीय अगुवाहरुको छ ।

डा. केसीले दूरदराजमा बस्ने विपन्न नागरिकको समेत स्वास्थ्य र शिक्षामा सहज र समान पहुँच हुनुपर्ने माग उठाएर निरन्तर सत्याग्रह चलाउँदै आएकाले उनका जनमुखी मागको सम्बोधन हुनुपर्ने नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेशप्रसाद जोशीले बताए । स्थानीय प्रशासनले आन्दोलनमाथि दमन गर्न खोजेको र डा. केसीलाई अपहरण गरेर काठमाण्डौ लैजान खोजेको भन्दै सोमबार दिउसो डडेल्धुरा सदरमुकाममा चक्काजाम गरिएको थियो ।
 
डा. केसीको समर्थनमा सोमबार डडेल्धुराका स्थानीय तथा नागरिकसमाजले विरोध प्रदर्शन गर्दै ७ जिल्लामा सरकारी गाडी आवागमनमा रोक लगाएका छन् । नागरिक समाज, विभिन्न व्यवसायीक तथा पेशागत संघ संस्था, स्वास्थ्यकर्मी, विद्यार्थी तथा स्थानीयले डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै दिनहु डडेल्धुरा सदरमुकाममा प्रदर्शन गर्दै आएका छन् । आन्दोलनमा जननिर्वाचित प्रतिनिधि, सरकार र राजनीतिक दलले भने उदासीनता देखाउँदै आएका छन् ।

हेलिकोप्टर मार्फत डा. केसीलाई लैजान असफल भएपछि डा. केसीको अनशन, स्वास्थ्य अवस्था र थप उपचारबारे छलफलका लागि सोमबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वपक्षीय बैठक बोलाएको थियो । बैठकमा डा. केसीलाई हेलिकोप्टरबाट काठमाडौं लाने प्रशासनको प्रस्तावमा स्थानीयले असहमति जनाउदै बिरोध गरेका थिए । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीलाई काठमाण्डौ लैजानका लागि आएको नेपाली सेनाको हेलिकोप्टर फिर्ता गईसकेको जानकारी दिए । स्थानीय प्रशासनले बोलाएको बैठकमा सत्याग्रहीको इच्छाविपरीत जबर्जस्ती अन्यत्र पठाउनुभन्दा उनको माग पूरा गर्नतर्फ पहल गर्नुपर्ने आवाज उठेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

सत्याग्रहको आठौ दिन सोमबार स्थानीयले कालोपट्टीसहितको जुलुस प्रर्दशन गरेका छन् । सदरमुकामस्थित बसपार्कबाट शुरु भएको जुलुश बजार परिक्रमागर्दै तुफानडाँडा चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाल विद्यार्थी संघका केन्द्रीय महासचिव कुन्दन काफ्लेसहित स्थानीय अगुवाहरुले सम्बोधनगर्दै तत्काल वार्तामार्फत समस्या समाधान गरेर डा. केसीको जीवन रक्षा गर्न सरकारसँग जोडदार माग गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ