arrow

माधव नेपाललाई फकाउन बोहरालाई बनाइयो अनुशासन आयोगको अध्यक्ष

अष्टलक्ष्मीलाई मुख्यमन्त्री नदिनेले बोहरालाई पनि दिएनन प्रदेश प्रमुख

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
nekapa-amrit-keshav-kandel-madhav.jpg

काठमाडौं। प्रदेश प्रमुख नियुक्तिमा भाग नपाएकाले असन्तुष्ट भएका माधव नेपाल पक्षका अमृत बोहरालाई अनुशासन आयोगको अध्यक्ष बनाएर थामुथुम पार्ने प्रयास गरिएको छ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखमा ४–३ को भागबण्डा गरेकाले माधव नेपाल असन्तुष्ट भएका थिए । उनले नेकपाको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको बिरोध नै गरेको कुरा सार्वजनिक भयो ।

प्रदेश प्रमुखका दाबेदार रहेका नेकपाका पुराना र सादगी नेता बोहरालाई सोमबार बसेको सचिवालय बैठकले अनुशासन आयोगको अध्यक्ष बनाएको छ। बोहरा माधव नेपाल १५ बर्षसम्म एमालेको महासचिव रहँदा दोस्रो बरियतामा रहेर पावर एक्सरसाइज गरेका नेता हुन् । तर केपी ओली पार्टीको सत्तामा आएपछि वोहोरा एकपछि अर्को गर्दै किनारामा पारिदै गएका छन्।

बोहोरालाई साइजमा ल्याउन पार्टीकी नेतृ तथा उनकी पत्नी अष्टलक्ष्मी शाक्यलाई प्रदेश ३को मुख्यमन्त्री बनाइएन। त्यसबेला राष्ट्रपति विद्या भण्डारीको चाहनालाई पार्टी अध्यक्ष केपी ओलीले मोहोर लगाएर अष्टलक्ष्मीलाई रोक्ने काम गरेको टिप्पणी अहिले पनि पूर्व एमाले वृत्तमा हुने गरेको छ। 

नेकपाको सचिवालय वैठकले निर्वाचन आयोगको सचिवमा माधव नेपाल पक्षकै माधव पौडेललाई जिम्मेवारी दिइएको छ । ललितपुरका पूर्व जिल्ला विकास समितिका सभापति र हाल ३ प्रदेश सांसदसमेत रहेका पौडेल पनि नेकपाका पुराना नेता हुन्। बोहरा र पौडेल पंचायतकालमा सिन्धुपाल्चोकको पिस्कर काण्ड लागी धेरै जेलनेल भोगेका नेता हुन् । दुवै माधव नेपाल निकट हुन् । निर्वाचन आयोगको अध्यक्षमा भने पूर्व माओवादी बिष्णुपुकार श्रेष्ठलाई बनाइएको छ।

त्यसो त नेकपामा दुई अध्यक्षले जे चाह्यो त्यही हुने भएकाले अनुशासन आयोग एउटा औपचारिकताका लागि मात्र गठन गरिएको चर्चा सो पार्टीकै नेता कार्यकर्ताहरु चर्चा गर्ने गर्दछन्। पूर्वएमालेले पूर्वमाओवादी केन्द्रका नेताबिरुद्ध लेख्ने र माओवादीले एमालेका नेतालाई सत्तोसराप गर्दा पनि कुनै कारबाही नभएकाले अनुशासन आयोगको के औचित्य होला र ? नेकपाका एक केन्द्रीय सदस्यले भने ।

नेकपाको अनुशासन आयोगको सचिवमा साविक माओवादी केन्द्रबाट अशोक रोकायलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरिएको छ । लेखा परीक्षण आयोगका अध्यक्ष कँडेल योजना आयोगका उपाध्यक्ष हुन् भने आचार्य नेपाल दूरसंचार प्राधिकरणका बोर्ड सदस्य हुन् । कँडेल पूर्वएमालेबाट र आचार्य माओवादी केन्द्रबाट चयन भएका छन् ।

केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा छानिएका छन् । बडाल पूर्व एमाले र थापा  पूर्व माओवादी हुन् । ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई छानिएको छ । प्रसाई पूर्व माओवादी केन्द्र र ज्ञवाली पूर्वएमालेका हुन् । लेखापरीक्षण आयोगका अध्यक्ष कँडेल र सल्लाहकार परिषदका  अध्यक्ष बडाल पूर्वएमालेमा ओली पक्षका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ