arrow

बङ्गलादेशका राष्ट्रपति बस्ने होटलमा दुई देशको राष्ट्रिय झन्डा फहराउँदै

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
CKK_KTM_HotelMeriyta(1).JPG

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको वसाई आवासको प्रबन्ध गरिएको होटल मेरियटमा दुई देशको राष्ट्रिय झन्डा फहराउँदै ।

छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमणमा छन् । राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा छन् ।

सन् १९४४ जनवरी १ मा जन्मनुभएका हमिद सन् २०१३ को अप्रिलदेखि बङ्गलादेशको १९ औँ राष्ट्रपतिका रुपमा कार्यरत छन् । सन् २००९ देखि २०१३ को अप्रिलसम्म बङ्गलादेशको माथिल्लो सदन नेशनल पार्लियामेन्टको सभामुखको रुपमा उनले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए ।

कानूनका जानकार राष्ट्रपति हमिदले पटकपटक किशोरीगञ्ज बार एशोसिएशनको सभापतिको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए। किशोरीगञ्ज जिल्लाको कमलपुरमा गाउँमा जन्मिएका राष्ट्रपति हमिदले स्नातकसम्म अध्ययन गरेका छन् ।

सन् १९५९ मा छात्र लिगबाट राजनीति शुरु भएका राष्ट्रपति हमिदले सन् १९७० देखि निरन्तर निर्वाचित हुने अवसर पाउँदै आएका छन् । यसबाट नै उनको लोकप्रिताको पुष्टि हुन जान्छ ।

पूर्वी पाकिस्तानको रुपमा परिचित बङ्गलादेशको निर्वाचनमा सन् १९७० मा उनले युवा उमेरमा नै निर्वाचित हुने अवसर प्राप्त गरे। सन् १९७३, १९८६, १९९१, १९९६, २००१ र २००९ मा भएको संसदीय निर्वाचनमा उनले लगातार आफ्नो पक्षमा जित निकाले ।

अवामी लिगबाट पटकपटक निर्वाचित हमिदले पछिल्लो पटक किशोरीगञ्ज निर्वाचन क्षेत्र नं ५ विजयी भए। उनले सन् १९७१ मा भएको बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि सक्रिय सहभागिता जनाएका थिए। उनलाई बङ्गलादेश स्वतन्त्र भएको अवसरमा आयोजित विशेष समारोहमा सन् २०१३ मा स्वतन्त्रता दिवस सम्मानसमेत प्रदान गरिएको छ । तीन छोरा र एक छोरीका पिता हमिदले सन् १९६४ मा रसिदा हमिदसँग विवाह गरेका थिए।

संसारकै अत्याधिक घना बस्ती भएको देशको रुपमा परिचित बङ्गलादेशलाई शुरुआती चरणमा पूर्वी पाकिस्तानको रुपमा चिनिन्थ्यो । करीब १६  कडोड जनसङ्ख्या रहेको बङ्गलादेशमा इस्लाम, हिन्दू र बौद्ध धार्मिक समुदायको बसोबास छ । यहाँ ‘टाका’ नामक मुद्रा प्रचलनमा रहेको छ ।

बङ्गलादेशले सार्क, बिमस्टेकजस्ता क्षेत्रीय सङ्गठनमार्फत भाइचाराको अभिवृद्धि तथा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफ्नो सक्रिया भूमिका निर्वाह गर्दै आएको छ ।  मत्स्यपालन, गार्मेन्ट, पर्यटन तथा कृषिमा संलग्न बङ्गलादेशमा चिकित्सा शिक्षाका लागि नेपाली विद्यार्थीलाई समेत अवसर प्रदान गर्दै आएको छ ।

पछिल्लो पटक नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापार तथा ऊर्जा आदानप्रदानको क्षेत्रमा समेत सक्रिय संयन्त्र स्थापना भएको छ । क्रिकेट खेलको ‘पावर हाउस’का समेत परिचित बङ्गलादेश लामो समुद्री तह भएकाले पनि पर्यटकीय रुपमा समेत आकर्षक गन्तव्य हो ।

 भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्नेछन्। बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ