जबर्जस्ती करणीमा १०–१८ उमेर समूहका बालक, ७५ वटा मुद्दाका प्रतिवादी पनि बालक नै
काशीराम शर्मा, रासस
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
245
Shares
बाँके । जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन् । विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका ११९ जना बालबालिकालाई बाल सुधार गृह बाँकेमा राखिएको छ । चोरी, लागुऔषध कारोबार र बलात्कारको अभियोग लागेका उनीहरुमध्ये ४६ जना बलात्कार मुद्दासँग सम्बन्धित छन् ।
“जबर्जस्ती करणी मुद्दाका बालक १०–१८ उमेर समूहका छन्,” जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भने – “लागुऔषधसम्बन्धी मुद्दाका बालक पनि धेरै रहेका छन् ।” आपराधिक घटनामा बालबालिका भेटिने क्रम बढ्दो छ । उनका अनुसार एउटै बालिका ११ पटकसम्म चोरीका घटनामा समातिएका छन् ।
मुद्दामा अभियोजन पक्षले थुन्ने र अधिकारकर्मीले छुटाउने काम मात्रै हुने गरेको बताउँदै प्रहरी उपरीक्षक ओलीले अदालतले दोषी ठहर गरेका बालबालिकालाई बाल सुधार गृहमा पठाउने गरिएको जानकारी दिए । उनले भने – “बाल बिज्याइँ (कानुनविपरीतका काम) गरेको अभियोगमा पुर्पक्षमा रहेका र सजाय भुक्तान गरिरहेका बालकहरुलाई सुधार गृह पठाउँछौं ।”
बाँकेमा भएको एक मात्र बाल सुधार गृह अस्तव्यस्त छ । बाल बिज्याइँ गरेको अभियोगमा पुर्पक्षमा रहेका र सजाय भुक्तान गरिरहेका बालकहरु आधारभूत सुविधाबाटै वञ्चित छन् । खुलारुपमा बस्न पाउने बाल सुधार गृहको अवधारणा भए पनि उचित व्यवस्थापन हुन नसक्दा कडा सुरक्षा घेरामा बालकहरु कैदी जीवन बिताउन बाध्य छन् ।
सुधार गृहमा क्षमताभन्दा बढी बालकलाई राखिएको छ । सुधार गृहको क्षमता ७५ को भए पनि ११९ जनालाई राखिएको छ । शय्या ७२ मात्रै रहेकाले बाँकी बालकलाई भुइँमै सुताउन बाध्य भएको बाल सुधार गृहकी परामर्शकर्ता विमला काउचा मगरले बताइन् ।
बालबालिकाको आचरणमा सुधार ल्याउन सञ्चालनमा ल्याइएको बाल सुधार गृहमा आधारभूत सुविधासमेत नभएको अधिवक्ता विश्वजीत तिवारी बताउछन् । “विद्युत्को भोल्टेज नपुगेर बत्तीको प्रकाश मधुरो छ, पङ्खा चल्दैन, पानी तान्ने मोटर नचल्दा सुधार गृहमा शौच गर्नै समस्या छ,” उनले भने – “कैदी बालकले मनोरञ्जन गर्न र खेल खेल्न समेत पाएका छैनन् ।”
बालकको सङ्ख्याअनुसार शौचालय नहुँदा शौच र नुहाइधुवाइ गर्न पनि समस्या छ । यहाँ भएका दुईवटा शौचालयले ११९ जना बालकलाई धान्दैन, पालो कुर्नुपर्ने बाध्यता छ। “पालो नपाएर कहिलेकाहीँ त झगडा पर्छ,” परामर्शकर्ता काउचा मगरले भने ।
जरिवाना तिर्न नसक्दा सुधार गृहमै
मोबाइल चोरीको आरोपमा सिन्धुपाल्चोकका एक बालकविरुद्ध भक्तपुर जिल्ला अदालतले एक महिना कैद र ३९ हजार रुपैयाँ जरिवानाको फैसला सुनायो । अदालतको फैसलाबमोजिम उनलाई बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा ल्याइएको हो । उनले अदालतको फैसलाबमोजिम एक महिना सजाय भोगिसकेका छन् तर, जरिवानाबापतको ३९ हजार रुपैयाँ तिर्न नसक्दा उनले थप तीन वर्ष ११ महिना सुधार गृहमा बिताउनुपर्ने भएको छ । अदालतले जरिवानाबापतको रकम नतिरेमा चार वर्ष सजाय हुने फैसला गरेको छ । “जरिवानाबापतको रकम तिर्न नसकेका कारण उनले थप तीन वर्ष ११ महीना सुधार गृहमा बस्नुपर्ने हुन्छ,” काउचा मगरले भने ।
उनीमाथि भक्तपुरका एक व्यक्तिको ४७ हजार मूल्य पर्ने मोबाइल चोरी गरेको अभियोग लागेको थियो । अभियोग प्रमाणित भएपछि अदालतले जरिवानासहित एक महिना कैदको सजाय सुनाएको हो ।
त्यसो त बाल बिज्याइँ मुद्दाको सुनुवाइमा ढिलाइ हुँदा पनि कतिपय बालकले तोकिएको समयभन्दा धेरै कैद भुक्तान गर्नु परिरहेका छन् । “मुद्दा चलेको एक वर्ष बिते पनि पेशी चढेको देखिँदैन जसका कारण बालकलाई धेरै समय सुधार गृहमा बस्नुपर्छ,” अधिवक्ता तिवारीले भने । छिटो गरी पेशी चढ्दैन, बल्लतल्ल पेशी चढे पनि सुनुवाइ नभएर पेशी सर्दै गएको देखिन्छ । “एक वर्षसम्म पेशी नचढेको पाइएको छ,” उनले भने । आपराधिक घटनामा बालबालिकाको संलग्नता बढिरहेकामा चिन्ता व्यक्त गर्दै उनले पछिल्लो समय लागुऔषध, चोरीका घटनामा बालबालिकाको संलग्नता बढेको बताए ।
किशोर पनि सुधार गृहमै
बाल सुधार गृहमा १८ वर्षमुनिका बालकलाई मात्र राख्न मिल्ने प्रावधान छ तर यहाँ त्यसभन्दा माथिका किशोरलाई समेत राखिएको छ । परामर्शकर्ता काउचा मगरका अनुसार उमेर पुगेका १० जनालाई यसअघि नै कारागार पठाइसकिएको छ । उनले भने – “सुधार गृहमा अझै सात जना किशोर छन् । कानूनअनुसार यहाँ राख्न नमिल्नेलाई पनि राख्नुपर्ने बाध्यता छ ।”