arrow

शेरमानलाई उचाल्ने नेकपाका दुई नेता दाजुभाई कारबाहीमा

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
serman1.jpg

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनमा असहयोग गर्ने जिल्लाका दुई नेतालाई कारबाही गरेको छ । नेकपाका जिल्ला सदस्य शेरमान घर्तिलाई उचालेर बागी हाल्न लगाउने दुई दाजुभाईलाई कारबाही गरेको हो ।

नेकपाका अध्यक्ष ईन्द्रलाल सापकोटाको अध्यक्षतामा बसेको जिल्ला कार्यसमिति बागलुङको बैठकले तुलसीराम अर्याललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ भने अर्का नेता दधिराम अर्याललाई पार्टी सदस्यता समेत नरहने गरि कारवाही गर्ने निर्णय गरेको हो । नेकपाले एक विज्ञप्ती जारी गरी उक्त कुरा सार्वजनिक गरेको हो ।

कारवाहीमा परेका तुलसीराम २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका उम्मेदवार समेत हुन् । दधिराम २०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस परेका थिए ।
 
मंसिर १४ गते हुने निर्वाचनमा नेकपाका तर्फबाट शेरमान घर्तिको उम्मेदवार कायम गर्न गरिएको षड्यन्त्र, उम्मेदवारी सार्वजनिक रुपमा फिर्ता लिइसके पनि घर्तिाको चुनाव चिन्हलाई दुरुपयोग गरि पार्टीलाई असफल गराउन गरिएको गतिविधिका आधारमा कारवाही गरिएको नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए ।

 पार्टीको अन्तरिम बिधान २०७५ को धारा ५६ (क) को (८) बमोजिम पार्टी नीति बिपरित गतिविधि भएको ठहर गर्दै कारवाही गर्ने निर्णय गरिएको अध्यक्ष सापकोटाको भनाई छ । जिल्लाको क्षेत्र नम्बर २ ख मा यही मंसिर १४ मा प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।

 उक्त निर्वाचनमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीलाई सघाउने सहमति केन्द्रीय तहबाटै भएको थियो । तर, अर्यालद्धय लगायतका स्थानीय नेताहरुले भने नेकपाकै उम्मेदवार बनाउनु पर्ने पक्षमा तिव्र लबिङ गर्दै आए पनि पार्टीले फरक निर्णय गरे पछि सामाजिक सञ्जाल लगायतका माध्यमबाट तिव्र असन्तुष्टि जनाउदै आएका छन् ।

पश्चिम क्षेत्रका नेकपाका केही नेता कार्यकर्ताले बागी बनेका शेरमान घर्तिले गठबन्धनको चुनावी अभियानलाई सघाउने निर्णय गरेपनि उनका लागि निर्वाचन कार्यालयले प्रदान गरेको चुनाव चिन्ह क्लिपमा भोट माग्दै हिँडेको नेकपाका नेताहरुको आरोप रहेको छ ।

दुवै अर्याल दाजुभाई पश्चिम क्षेत्रमा नेकपाका दरिलो नेताको रुपमा परिचित रहेका छन । नेकपाले आफ्नो समर्थनमा रहेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिम विक्रम शाहीलाई जिताउनका निम्ती सम्पुर्ण कार्यकर्तालाई आग्रह समेत गरेको छ ।

तस्विरः पार्टी कारवाहीमा परेका नेकपा नेता तुलसी अर्याल र दधिराम अर्याल ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ