‘व्याक अफ इण्डिया’ र ‘व्याक अफ चाइना’ भन्नेलाई माइतीघरमा लाठीचार्ज
विद्यार्थी नेता शाह र शेर्पा सहित ९ घाइते
प्रकाशित २०७६ मंसिर १ आइतबार
964
Shares
काठमाडौं । नेविसंघले भारत र चीनले नेपाली भूमी अतिक्रमण गरेको विरोधमा माइतीघर मण्डलामा ‘व्याक अफ इण्डिया’ ‘व्याक अफ चाइना’ नारा सहित प्रदर्शन गरेको छ ।
नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा भूमि अतिक्रमणविरुद्ध आइतबार दिउँसो विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा उनीहरुले ‘व्याक अफ इण्डिया’ ‘व्याक अफ चाइना’ को प्लेकार्ड र नारासमेत लगाएका थिए।
भारत र चीन दुबैले नेपालको सीमामा भूमि अतिक्रमण गरेको बिरोधमा उत्रिएका उनिहरुले दुबै देशलाई नेपाली भूमि छोडेर पछि हटन माग गरेका थिए । माइतीघरमा नाराबाजीसहित दोस्रो पटक फन्को लगाउन थालेपछि प्रहरीले उनीहरुलाई रोक्न खोजेको थियो ।
यसक्रममा प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले भिडलाई नियन्त्रणमा लिन लाठीचार्ज गर्दा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह र नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पा लगाएत एक दर्जन नेताकार्यकर्ता घाइते भएका छन्।
लिम्पियाधूरा, लिपुलेख र कालापानी नेपालको अखण्ड भूमि रहेको उल्लेख गर्दै प्रदर्शनकारीहरुले लिपुलेखलाई भारत र चीनले दुई पक्षीय नाका बनाउन खोज्नु बेईमानी भएको बताएका थिए।
प्रदर्शनको अगुवाई गर्ने शाहले २०७२ जेठ १ गते भारत र चीनले बेइजिङमा गरेको सन्धि खारेज हुनु पर्ने बताए। उनले नेपाललाई बाहिर राखेर नेपालको भूमीको बारेमा गरिएको सन्धि नेपाललाई स्वीकार्य नहुने बताए। शाहले नेपालका सम्पूर्ण राजनीति दलले सीमा बिबादको निकास खोज्न सरकारलाई जिम्मेवारी दिएपनि २ तिहाईको बलियो सरकार भाषणबाजीमा मात्र व्यस्त रहनु राष्ट्रघात भएको बताए।