arrow

धनराज, देवराज र उम्मेदवार खेमराज एकैठाउँमा भेट हुँदा...

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
khemraj,_devraj,_dhanraj.jpg

पोखरा । नेपाली कांग्रेसका नेताहरू धनराज गुरुङ र देवराज चालिसेको नाम यो उपनिर्वाचनमा सर्वाधिक चर्चामा रह्यो । गत जेठतिर धनराज गुरुङको नाम चर्चामा थियो । असोजतिर देवराज चालिसेको नाम अगाडि आयो र कात्तिक १८ गतेसम्म उनकै नाम चर्चामा रह्यो ।

जब पार्टीको केन्द्रीय तहमा उम्मेदवार छनोटमा सहमति जुट्न सकेको थिएन, त्यसबेला धनराजको नाम सर्वाधिक चर्चामा रह्यो कात्तिक २० गते दिउँसो २ बजेसम्म । सबै सञ्चारमाध्यम, सामाजिक सञ्जालले ‘धनराज कास्कीमा लड्ने’ शीर्षकको समाचार प्रकाशित गरिरहेका थिए ।

सोही दिन २ बजे धनराज आफै पार्टीको बैठकमा पुगेर आफू कास्की नजाने जानकारी गराएपछि पार्टीका नेताहरू एकाएक खेमराजतर्फ मोडिए । त्यसपछि पार्टीका कोही पनि नेताहरू बोल्नै सकेनन् । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई सबै जिम्मा लगाउँदै बैठक छाडे । त्यसपछि सभापति देउवाले खेमराजलाई टिकट दिएर पठाए ।

संयोगवस सोमबार चुनावी प्रचारको क्रममा यी तीनै जना नेताको एकैठाउँमा भेट भयो । भेट साविक भरतपोखरीको जिव्रेढुंगामा भएको थियो । भेटपछि तीनै जना नेताले एकअर्कामा अंकमाल गरे । यो चुनावमा प्रमुख दावेदार रहेका धनराज, देवराज र टिकट पाएका खेमराजको भेट हुँदा अन्य नेता कार्यकर्तामा खुशीको सीमा नै रहेन । उम्मेदवारको मुहारमा पनि औधी खुशी देखिन्थ्यो । नेता कार्यकर्ताहरू पनि खुशीले उफ्रिंदै कांग्रेसको पक्षमा चर्का नारा घन्काए ।

कार्यकर्ताको माझमा ३ राज ‘पार्टीको थ्री स्टार अर्थात ३ नक्षत्र’ भन्ने चर्चा पनि भयो । कार्यकर्ताको उत्साह देखेर यी तीनै नेताले आआफ्नो हातमा हात मिलाउँदै ‘गुरु’ लाई जसरी जिताउँछौं भन्ने अठोट गरे ।

धेरैबेर यी तीनै नेता घरदैलोमा खटिए । कार्यकर्ता मात्र उत्साहित भएनन्, मतदाता पनि अभियानमा थपिए । विभिन्न स्थानमा आयोजित कोणसभामा पनि धनराज र देवराजले उम्मेदवार खेमराजको प्रशंसा नै प्रशंसा गरे । नेता देवराजले त शुरुदेखि निकै प्रशंसा गरेका थिए । उनी खेमराज संगसंगै खटिएका पनि छन् ।

कोणसभामा धनराज र देवराजले खेमराजलाई सादगी, निष्ठावान, त्यागी, सन्त, सबैले सम्मान गर्न लायक व्यक्तित्व जस्ता शब्दले प्रशंसा गरेका थिए । नेता धनराजले ‘यत्तिका महान व्यक्तित्वलाई यो पटक जिताउन नसके इतिहासले धिक्कार्ने’ बताएका थिए ।

कांग्रेसले बनायो स्वयंसेवक परिचालन समिति
उपनिर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले स्वयंसेवक परिचालन समिति गठन गरेको छ । कांग्रेस नेता सिकन्दरकुमार गुरुङ ‘भोजे’को संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपसंयोजकमा प्रेमलाल पुन रहेकाछ छन् । यसैगरी सदस्यमा प्रमोद कोइराला, ढकबहादुर थापा, लक्ष्मण थापा, मनबहादुर विक, शितल अधिकारी, अब्दुलमजिद मिया, मीनबहादुर गुरुङ, सनबहादुर गुरुङ, दयाराज भण्डारी, माधव आचार्य र मीलन गुरुङ एनसी छन् ।

यसैगरी समितिले ३ सय ४१ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति समेत गठन गरेको छ । समितिले स्वयंसेवक परिचालन गरि कास्की २ को उपनिर्वाचनमा उम्मेदवार खेमराज पौडेललाई विजयी गराउने बताएको छ । सधैं नेपाली कांग्रेसको राजनीतिमा निष्ठावान नेता खेमराज पौडेललाई जिताउन स्वयंसेवक परिचालन समितिले उल्लेख्य भूमिका खेल्ने संयोजक सिकन्दरकुमार गुरुङ भोजेले बताए ।
 
चुनाव प्रचार अभियान जारी
कास्की कांग्रेसको चुनाव प्रचार अभियान ११ वटै वडामा जारी छ । सबै वडामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुगेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार पोखरा–३३ मा घरदैलो सकेर उम्मेदवार पौडलसहितको टोली पोखरा फर्किएको छ । उम्मेदवार पौडेलसहितका नेताहरू आज पोखरा–९ र पोखरा–१७ मा कोणसभामा केन्द्रित हुनेछन् । कोणसभामा पार्टीका केन्द्रीय सदस्यहरूले संवोधन गर्ने कार्यक्रम छ ।

तरुण दलको चुनावीसभा
नेपाल तरुण दल कास्की क्षेत्र नं. २ ले मंसिर ६ गते चुनावीसभा आयोजना गरेको छ । पोखरा–७ स्थित राष्ट्रबैंकचोक रत्नचोकको बीचमा सडक डिभिजन कार्यालय अगाडि कार्यक्रम हुने बताइन्छ । सभालाई कांग्रेस नेताहरू गगन थापा, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उदय समशेर राणा, विद्वान गुरुङ लगायतले संवोधन गर्ने कार्यक्रम तय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ