नेकपाको बुधबार बैठकः मन्त्रिपरिषदमा को आउला को बाहिरिएला ?
प्रकाशित २०७६ मंसिर ४ बुधबार
505
Shares
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
बैठक बिहान ९ बजे बस्ने भनी मंगलबार नै जानकारी गराइएको भए पनि आन्तरिक तयारीका लागि भन्दै मध्यान्ह १२ बजेका लागि सारिएको छ ।
पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको अधिकांश काम सकिए पनि केही कमिटीको काम अझै नसकिएकाले बैठक बस्न लागेको हो । यसका लागि आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।
पार्टी एकताका काम संगसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेकाले उक्त बैठकपछि नै उनले नाम सार्वजनिक गर्ने स्रोतले बताएको छ ।
मंगलबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्रीहरू हेरफेर गर्न लागेको जानकारी दिएका थिए ।
ओलीले मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रममा नजान आग्रह गरेका छन् । उनले मन्त्रीहरुलाई थपघट हुन लागेका बारेमा सम्झाएका थिए । उनले कोही जाने र कोही दोहोरिने हुन सक्ने र यो प्रक्रिया भएको भन्दै अन्यथा नलिन आग्रह गरेको पनि बताइएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा हेरफेर गर्ने प्रसंग आएको महिनौं भएको छ । यसपटक उनी गम्भीर भएर लागेका छन् ।
गत महिना ग्रान्डी अस्पतालमा गएर मृगौला डायलाइसिस गरेपछि उनी काम नगर्ने मन्त्री फेर्न गम्भीर भएको बताएका थिए ।