उपेन्द्र यादव अपमानित भएर सरकारमा बस्लान् कि बाहिरिएलान् ?
राजपालाई सरकारमा भित्र्याउने ओली दाउ
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
444
Shares
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार गरेको मन्त्रिपरिषद पुनर्गठनमा सबैभन्दा ठूलो बेइज्जती उपेन्द्र यादवको भएको छ । उनी भारत भ्रमणमा रहेको बेला उनको जिम्मेवारी हेरफेर गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा पठाइएको छ । कानुन मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रायलभन्दा कम आकर्षक मन्त्रालय मानिन्छ ।
उपप्रधानमन्त्री समेत रहेका यादवको पार्टीबाट स्वास्थ्य राज्यमन्त्री रहेका सुरेन्द्र यादवलाई त पदमुक्त नै गरिएको छ। उपप्रधानमन्त्री यादवसँग छलफलसमेत नगरी उनलाई मन्त्रालय फेरबदल गर्ने र राज्यमन्त्रीलाई पदमुक्त गरिएको हो। यादवको पार्टीबाट सहरी विकास मन्त्री रहेका मोहम्मद इस्तियाक राईको मन्त्रालयमा रामबीर मानन्धरलाई राज्यमन्त्री बनाइएको छ । मानन्धर नेकपाका सांसद हुन् ।
प्रधानमन्त्री ओलीले यसरी अपमानित गर्दा पनि यादवको पार्टी सरकारमा बसिरहला कि बाहिरिएला त ? समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादव भारत भ्रमणबाट आएपछि नै थाहा होला । प्रधानमन्त्री ओली यादवलाई सरकारमा राख्ने पक्षमा नरहेको बताइन्छ । यसलाई ओलीको एक तिरबाट दुई निसानामा शिकार गरिएको रुपमा समेत लिइएको छ। यादव सरकारबाट बाहिरिनासाथ राष्ट्रिय जनता पार्टीलाई सरकारमा भित्र्याउने सुरमा ओली रहेका छन् । नयाँ समिकरण बनाउन सके समाजवादीलाई प्रदेश नम्वर २को सरकारबाट पनि वाहिर्याउने र त्यहाँ पनि नेकपा र राजपाको सरकार बनाउने सम्मको तयारी छ। यादव बाहिरिनासाथ राजपाका नेताहरु सरकारमा जान खुट्टा उचालेर बसेको बताइन्छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा मात्र यादवलाई ओलीले सरकारमा स्थान दिएका थिए । यादवले सरकारमै बसेर संविधान दिवसलाई कालोदिनका रुपमा मनाउनेदेखि नेपाली कांग्रेससँग हालै चुनावी तालमेल गरेकोमा ओली रुष्ट थिए ।
समाजवादी पार्टीलाई सोध्दै नसोधी मन्त्रिपरिषद हेरफेर गर्दा पनि सरकारमै रहन्छ कि भन्ने प्रश्न गर्दा महासचिव रामसहाय यादवले सरकारमा रहनेकी नरहने भन्ने विषयमा गम्भीर छलफल हुने बताए। पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई जानकारी नदिइ सरकारको जिम्मेवारी हेरफेर गरिएकोमा गम्भीर असहमति समेत उनले जनाए छ। भारत भ्रमणमा रहेका उपेन्द्रजी नेपाल आउनु अघी नै पनि यस बिषयमा छलफल गरेर निर्णय हुन सक्छ रामसहायले भने।
समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने केहि दिन अघी समाजवादीको संघीय समितिको वैठकमा सत्तरुढ नेकपाको बारेमा कटु आलोचना गर्दै सरकारबाट वाहिरिनु पर्ने धारणा सार्वजनिक गरेका थिए। तर उपेन्द्र यादवले भने केन्द्रीय समितिको वैठकबाट सरकारमै रहने निर्णय पारित गराएका थिए। यतिखेर एक अध्यक्ष यादव भारतमा छन् भने अर्का अध्यक्ष भट्टराई चुनाव प्रचारका क्रममा तारई मधेशमा छन्। भट्टराईले पार्टीका केहि नेताहरुसँग यसरी अपमानित भएर सरकारमा बस्नुको औचित्य नभएको भनेर चर्चा गरेका छन्।