arrow

नेकपाले फिर्केखोला बन्धक राखेर भोट मागेको खुल्यो रहस्य

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
firke-kholaaa.jpg

पोखरा । भनिन्छ,  चुनावमा लोली, बोली, धन, दौलत, इमान, जमान सवै बेचिन्छ । तर हुँदा–हुँदा पोखरामा चुनावको बेला फिर्केखोला समेत बेचिएको रहस्य खुलेको छ । पोखरा महानगरपालिका कार्यालयले फिर्के खोला बन्धक राखेर स्थानीय फिर्के प्रभावित नागरिकहरूसँग गोप्य सहमति गरेको पत्र फेला परेको छ ।

यसअघि १० मिटर कायम गरिएको फिर्के खोलाको मापदण्ड अहिले उप निर्वाचनको वेला महानगरले घटाएर एक मिटरमा झारेको सहमति पत्र फेला परेको हो ।

सहमति पत्रमा महानगरका मेयर मानवहादुर जिसीको प्रतिनिधिको रुपमा बरिष्ट कानुन अधिकृत नारायणप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । त्यसैगरी मध्यस्थकर्ताको रुपमा अधिवक्ता हीमलाल पराजुली, स्थानीय दाजुभाइद्धय कृष्ण पराजुली (ढाकामोहन), राजेश पराजुली र शंकरनाथ कोईरालाले मध्यस्थकर्ताको रुपमा हस्ताक्षर गरेका छन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रतिनिधि दामोदर बैरागी, फिर्के संरक्षण तथा मापदण्ड सरोकार तदर्थ समितिका अध्यक्ष नारायण विक्रम शाही, सचिव कृष्णप्रसाद जैसी, कास्की क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार सुनीलबहादुर कोइरालाले हस्ताक्षर गरेका छन् ।

देशमा निर्वाचन आचार संहिता लागू भएको अवस्थामा महानगरपालिकाले नेकपालाई निर्वाचनमा सघाउने आश्वासन बाँड्दै फिर्के खोलाको मापदण्ड घटाएको महानगर स्रोतको भनाइ छ । यो निर्वाचनमा मापदण्ड घटाएको भनेर फिर्के वासिन्दासँग पैसा समेत असुल गरेको स्रोतको दावी छ ।

यता यसवारे जानकारी लिन खोज्दा महानगरका मेयर मानबहादुर जिसीले फोन उठाएनन् । मेयर जिसीको प्रतिनिधिको रुपमा हस्ताक्षर गरेका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले साँझको बेला सही गरियो, गलत भयो भन्दै माफी मागेका छन् ।

स्वयं कानुनको पाठ सिकाउनेले नै गरेको यो हर्कतले अहिले पोखरेली नागरिकलाई झसंग बनाएको छ । महानगरको वरिष्ठ कानुन अधिकृत जस्तो व्यक्तिले यसरी जथाभावि हस्ताक्षर गरेर जनतालाई झूठो आश्वासन बाँड्न मतियार बनेको भन्दै महानगरका कर्मचारी र सामाजिक संञ्जालमा समेत चर्को विरोध भएको छ ।

निर्वाचनमा सघाउनको लागि भन्दै स्थानीय नागरिकमा झूठो आश्वासन बाँड्दै जथाभावी सम्झौता गरेको प्रभावित वासिन्दाहरुले बताएका छन् । ‘चुनावको मुखमा जस्तो पनि सम्भौता गर्छन्, चुनाव सकिएपछि फेरि सबै कुरा हराउँछन्’, उनीहरूले भनेका छन् । सो सहमति नेकपालाई भोट दिने शर्तमा गराइएको झूटो आश्वासनको पुलिन्दा भएको फिर्के प्रभावित नागरिकको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ