कास्कीको चुनावमा बलिदानी दिन तयार छौं : तरुण अध्यक्ष जितजंग बस्नेत
प्रकाशित २०७६ मंसिर ७ शनिबार
509
Shares
पोखरा। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कास्कीको चुनावमा तरुण युवा बलिदानी दिन तयार रहेको बताएका छन्। उनले उपनिर्वाचनमा धाँधली गर्ने, बुथ कब्जा गर्ने हल्ला आफूले सुनेको भन्दै त्यसका बिरुद्ध तरुण युवा बलिदानी दिन तयार रहेको स्पष्ट पारे।
उनले भने, ‘नेकपाका युवाहरूले केही बुथ कब्जा गर्ने रणनीतिमा रहेको भन्ने सुनेको छु। त्यसलाई रोक्न तरुण युवा ज्यानको बलिदानी दिन तयार छ।’ चुनावमा सुरक्षा निकाय पनि कम्युनिष्टको भातृ संगठन जस्तो बन्न खोज्छ भने त्यो शक्तिसंग पनि मुकाविला गर्ने अध्यक्ष बस्नेतले चेतावनी दिए।
नेपाल तरुण दल कास्की क्षेत्र नं. २ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कम्युनिष्ट सत्ताको चरम दुरुपयोग गरेर अरिङ्गालहरूले निर्वाचनमा धाँधली गर्न सक्ने सम्भावना रहेको बताए।
‘निर्वाचन आचारसंहिता लागू भइसकेको छ। उपनिर्वाचनका बेला बुथ कब्जा गर्ने योजना नेकपाका गुण्डाले बनाएको सुनिएको छ,’ अध्यक्ष बस्नेले भने, ‘युवा तरुणले बुथ कब्जा गर्न दिनुहुँदैन। बुथको सुरक्षा दिन नसक्ने तरुणलाई पदमा बस्ने अधिकार पनि छैन।’ अध्यक्ष बस्नेतले निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आयोग र मातहतका निकायसँग आग्रह गरेका छन्। उनले प्रहरी र प्रशासनलाई पनि निष्पक्ष रुपमा प्रस्तुत हुन सचेत गराए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद लाद्न खोजेको भन्दै उनले कम्युनिस्ट व्यवस्था ल्याउन खोजेमा कडा प्रतिवाद गरिने बताएका छन्। ‘कांग्रेसलाई निरंकुशता मान्य छैन। जीवन दिन तयार छौं तर, अधिनायकवाद मान्दैनौं,’ अध्यक्ष बस्नेतले भने, ‘प्रचण्डकी बुहारीले मेलम्चीमा कमिसन खाएर ठेकेदार लखेटेकी छिन्। ३३ होइन ३८ किलो सुन ओली र प्रचण्डको घरबाट निकाल्न नपरोस्।’
कांग्रेसले सदैव सहमति र सहकार्यको राजनीति गरे पनि कम्युनिस्टले निरंकुशता लाद्न खोजेको अध्यक्ष बस्नेतले बताए। ‘कांग्रेस सहमति र सहकार्य गर्न चाहन्छ। उन्नति प्रगति र राष्ट्रियताका लागि मात्रै सहकार्य हुन्छ। राष्ट्र र जनताका लागि कांग्रेस सहमति गर्न चाहन्छ,’ अध्यक्ष बस्नेतले भने।
तरुण दलका अध्यक्ष बस्नेतले तरुण कार्यकर्तालाई प्रशासनले दुःख दिएको भन्दै सचेत रहन कम्युनिस्ट सरकार र प्रहरीलाई चेतावनी दिए। ‘प्रहरी कसैको भातृ संगठन होइन। दुःख दिने हो भने सडकमा जम्काभेट हुनेछ,’बस्नेतले चेतावनी दिए।