arrow

पोखरामा कांग्रेसको चुनावीसभा र घरदैलो अभियान जारी

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
khemraj-congress-pokhara.jpg

पोखरा। नेपाली कांग्रेस कास्कीको चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रम जारी छ । यस अभियान अन्तर्गत चुनावी सभा र मतदातालाई पार्टीको प्रतिवद्धता जनाउने कार्यक्रम हो । योसंगै घरदैलो अभियान पनि जारी छ । केही वडामा उम्मेदवारसहितको र केही वडामा नेता कार्यकर्ता सहितको घरदैलो जारी छ । कांग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई ३ चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो । जसमा पहिलो चरण ५ दिन, दोस्रो र तेस्रो चरण ७-७ दिनको छ ।

पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको कांग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित गर्‍यो । तेस्रो चरणका ७ दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।

उनले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता जनतासामू लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्नेहरू गोप्य रुपमा अनुगमन र खबरदारी गर्ने बताए । पूरै पार्टी पंक्ति यो चुनावमा परिचालन भएको छ । जुन ठाउँमा जो आवश्यक पर्छ सोही अनुरुप रणनीति तयारी गरेका छौं, सभापति केसीले भने, ‘अबको ७ दिन मतदाता केन्द्रित हुनेछौं । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने विरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौं ।

आइतबार पोखरा२० भलाममा उम्मेदवारसहितको घरदैलो अभियान भएको छ । पोखराका अन्य वडामा पनि नेता कार्यकर्ताले घरदैलो गरी मतदाता भेटघाट कार्यक्रमलाई  जारी राखेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

पोखरा७ मा घरदैलो अभियान जारी रहेको र मतदाता भेटघाट अन्तिम चरणमा पुगेको कांग्रेस नेता एवं चुनाव प्रचार समितिका संयोजक शुक्रराज शर्माले जानकारी दिए । केही टोल बाहेक अधिकांशमा मतदाता भेटघाट सकिएको उनले बताए ।

वडा भित्र पनि कलष्टर छुट्याएर अभियान सञ्चालन गरिएको संयोजक शर्माले बताए । उनले भने, ‘टोलै पिच्छे छुट्टाछुट्टै समिति गठन गरेर अभियान अघि बढाएका छौं । साथै पार्टीका सबै संयन्त्रलाई पनि परिचालन गरेका छौं ।

नेविसंघका नेता कार्यकर्ताले विद्यार्थी, महिला संघका नेता कार्यकर्ताले महिला, तरुण दलका नेता कार्यकर्ताले युवा, जनजाति संघका नेता कार्यकर्ताले जनजातिहरूसंग  भेटघाट गरेको नेता शर्माले बताए । उनले भने, ‘कांग्रेस पार्टीप्रति विश्वास र उम्मेदवार खेमराज पौडेलको लोकप्रियताले मतदाता निकै उत्साहित छन् । कांग्रेसको पक्षमा मत दिन आतुर छन् ।

यता, पोखरा १६ मा पनि घरदैलो अभियान जारी छ । जसअन्तर्गत पहिलो चरणमा मतदाता भेटघाट कार्यक्रम भएको छ । चुनाव प्रचार समितिका संयोजक कुमार खड्काका अनुसार यस क्षेत्रमा आगामी मंसिर ५ गते उम्मेदवारसहितको घरदैलो अभियान हुनेछ । त्यसको तयारी पनि भइरहेको र पार्टीका सबै संयन्त्र परिचालन गरि चुनाव प्रचार भइरहेको गण्डकी प्रदेशसभा सदस्य समेत रहेका नेता खड्काले जानकारी दिए ।

यस्तै, पोखरा११ मा पनि चुनाव प्रचार अभियान जारी छ । चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलका अनुसार पार्टीका सबै संयन्त्रको बैठक बसेर विभिन्न समितिहरू बनाएर अघि बढाइएको छ । संविधानसभा सदस्य समेत रहेकी उनले पोखरा११ कांग्रेसकै पकड क्षेत्र भएको भन्दै यस क्षेत्रमा पहिला भन्दा डब्बल मत ल्याउन कांग्रेस सक्रिय भएर लागेका जानकारी दिइन् ।

यसैगरी पोखरा९ मा घरदैलोमार्फत मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुगेको चुनाव प्रचार समितिका संयोजक वीरेन्द्रनारायण विजुक्छेले जानकारी दिए । पोखरा९ मा विगतका चुनावमा भन्दा धेरै भन्दा धेरै कत तान्न कांग्रेस सक्रिय भएर लागेको र मतदाता पनि निकै उत्साहित रहेको संयोजक विजुक्छेले बताए ।

यसैगरी पोखरा १७ मा पनि आइतबार अभियान जारी छ । यस वडामा केन्द्रीय सदस्य धनाज गुरुङ, कास्की कांग्रेसका सभापति कृष्ण केसी, वडा इकाइ सभापति देवराज आचार्यसहितको घरदैलो अभियान भएको हो । आइतबार महतगौंडा क्षेत्रका मतदातासंग भेटघाट भएको इकाइ सभापति आचार्यले बताए ।

यता, पोखरा३३ मा आइतबार बिहानैदेखि घरदैलो अभियान जारी छ । अभियानमा उम्मेदवार खेमराज पौडेललगायत कास्कीका नेताहरू सहभागी छन् । उम्मेदवार पौडेलले पोखरा३३ सबै क्षेत्रमा आइतबार घरदैलो र चुनावी सभा हुने कांग्रेसका केन्द्रीय सदस्य एवं सो क्षेत्रका चुनावी कमाण्डर जीवन परियारले जानकारी दिए ।

उनले पोखरा३३ ठूलो वडा भएकाले आफूले धेरै दिन देखि खटिएर अधिकांश मतदातासंग भेटघाट गरिसकेको र केही मतदातासंग अझै भेट्ने कार्यक्रम रहेको बताए । उनले भने, ‘भेट्घाटका क्रममा जनताका गुनासा धेरै नै पायौं, अब उनीहरूका गुनासालाई पार्टीमा छलफल गरेर संवोधन गर्न तर्फ पनि ध्यान दिन्छौं । उनले कांग्रेसप्रति जनताको विश्वास अझै कायमै रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ