पोखरा। नेपाली कांग्रेस कास्कीले निर्वाचन उल्लंघनका कार्य भएको भन्दै निर्वाचन आयोगमा अर्को उजुरी दिएको छ। केही दिन अघि पोखरा–१५ मा जनप्रतिनिधिले नै कम्वल वितरण गरेको भन्दै उजुरी दिएको कांग्रेसले शनिबार पुनः अर्को उजुर दिएको हो। उजुरीमा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा–१७ कै होटल सांग्रीलादेखि महतगौंडासम्मको बाटोमा डोजर प्रयोग गरी पाइप विछ्याउने कार्य गरेको उल्लेख छ।
सो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विपरितको हुने कांग्रेसको दावी छ। नियमानुसार वडाध्यक्ष अधिकारीलाई कार्वाहीको माग समेत कांग्रेसले गरेको छ। आयोगमा उक्त उजुरी उपनिर्वाचन मूल प्रचारप्रसार समिति कास्की क्षेत्र नं। २ का संयोजक देवेन्द्र रानाभाटले दर्ता गराएका हुन् ।
अबको कमाण्ड शर्माले सम्हाल्ने
नेपाली कांग्रेसका केन्द्रीय नेताहरू पोखराको चुनाव प्रचार र सभा सकेर बाग्लुङतर्फ लागेका छन्। केही नेता शनिबार र केही नेता आइतबार बिहान बाग्लुङ पुगेका हुन्। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत, गगन थापा लगायतले पोखराको चुनावी माहोल राम्रैसंग तताए।
सोमबारदेखि पोखराको चुनावीसभा पार्टी प्रवक्ता र डा। मिनेन्द्र रिजाल लगायतका नेताहरूले सम्हाल्ने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए। उनका अनुसार प्रवक्ता शर्मा सोमबार बिहान पोखरा आउने कार्यक्रम छ। उनी दिउँसो १२ बजे पोखरा–११ र ३ बजे पोखरा–१७ को चुनावीसभालाई संवोधन गर्ने कार्यक्रम छ।
यस्तै, मंगलबार नेता शर्माले बिहान पोखरा–८, दिउसो पोखरा–२० र २१ को चुनावीसभालाई संवोधन गर्ने कार्यक्रम छ। यसैगरी बुधबार २१ र ३३ को चुनावीसभालाई नेता शर्माले संवोधन गर्ने कार्यक्रम तय भएको पार्टी सभापति केसीले बताए। कांग्रेसमा प्रवेश गर्नेको लर्को शनिबार पोखरा–१६ मा आयोजित चुनावीसभामा पूराना वामपंथी नेता माधव प्रसाद पराजुली नेपाली कांग्रेमा प्रवेश गरे।
कम्युनिष्टले राष्ट्र र जनतालाई पटकपटक धोका दिएको भन्दै कांग्रेस प्रवेश गरेका पराजुलीले विपिको प्रजातान्त्रिक समाजवाद नै अहिलेको उत्तम सिद्धान्त भएको बताए। उनलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गगन थापा लगायतले स्वागत गरे। सोही सभामा ईन्द्रमान सिलवाल, सरु थापा निर्मला थापा पनि नेकपा छाडेर कांग्रेसमा प्रवेश गरे।
यसैगरी आइतबार पोखरा २१ मा पनि मोती प्रसाद आचार्य, कृष्णबहादुर परियार, लेखबहादुर नेपाली वत्ति कुँवर, मञ्जु विक पनि नेकपा छाडेर कांग्रेमा प्रवेश गरे। उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर गुरु बराल लगायतले पार्टी प्रवेश गराएका थिए।
पोखरा–२१ को दुवारे, निर्मलपोखरी, मैदान, ठूलीस्वाँरा, शिवालयमा आयोजित चुनावी कोणसभामा नेता धनराज गुरुङ, देवराज चालिसे, उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर गुरु बराल लगायतले संवोधन गरेका थिए।