सीमा विवादको बेवास्ता गर्दै परराष्ट्र मन्त्री ज्ञवाली रुसतिर
प्रकाशित २०७६ मंसिर ९ सोमबार
452
Shares
काठमाडौं । कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवाद समाधान गर्न छाडेर रुस भ्रमणमा गएको भन्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको चर्को आलोचना भएको छ ।
औपचारिक भ्रमणका निम्ति उनी आइतबार अपराह्न रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गरेपछि उनको आलोचना भएको हो । ज्ञवाली नेतृत्वको नेपाली टोलीले एक हप्ता लामो भ्रमणका क्रममा सर्वियाको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । नयाँ सिमाना सहितको नक्शा भारतले सार्वजनिक गरेपछि जनस्तरबाट चर्को विरोध भइरहेपनि सरकारले प्रभावकारी र ठोस कदम चाल्न नसकिरहेका बेला परराष्ट्र मन्त्री ज्ञवाली एक हप्ता लामो विदेश भ्रमणमा निस्किएका हुन् ।
कुटनीतिक पहल गरेर विवाद समाधान गर्ने मुख्य जिम्मेबारी पाएका मन्त्री नै एक हप्तासम्म विदेशतिर गएपछि तत्काल विवाद समाधान नहुने देखिएको छ ।
भारतको नयाँ नक्शाका विरुद्धमा स्पष्ट अडानका साथ सरकार उभिन नसकिरहेको बेला मन्त्री ज्ञवाली सचिवसहित विदेश भ्रमणमा जानुलाई विरोधमा उत्रिएका नेपालीलाई थकाउने रणनीतिका रुपमा पनि लिइएको छ ।
विपक्षमा रहँदा राष्ट्रवादका नाममा चर्को भाषण गरेपनि अहिले भने भारत सामु निरीह भएकाले यसलाई छल्न र आम नागरिकको दवाव नसुनेझै गर्न मन्त्री र सचिव विदेश भ्रमणमा गएको कुटनीतिक क्षेत्रका विज्ञहरुको टिप्पणी छ ।
केही दिनअघि उनी आफ्नो गृहजिल्ला गुल्मी गएर बसेका थिए । त्यसअघि सरकारका तर्फबाट उनले लिम्पियाधुरा र लिपुलेकको प्रसंग नै नकोट्याई कालापानी मिचिएको भन्ने उल्लेख गरेर भारतलाई पठाएका थिए ।