पैसा बाँड्न आएका नेकपा कोहलपुरका नेताहरू स्थानियको नियन्त्रणमा
स्थानियको प्रतिकारपछि पैसा बाँड्ने प्रयास असफल
प्रकाशित २०७६ मंसिर ११ बुधबार
1.2k
Shares
कोहलपुर । कोहलपुरमा निर्वाचन आचारसंहिता विपरित मंगलबार राति मतदातालाई प्रभावित गर्न घरदैलो गर्दै गरेका नेकपाका नेता कार्यकर्ताहरुलाई स्थानियले नियन्त्रणमा लिएका छन् । मतदातालाई रकम दिएर प्रभावित पार्न खोजेको स्थानियले जानकारी गराएपछि कांग्रेस कार्यकर्ताहरुले स्थानियलाई साथ दिएका नियन्त्रणमा दिएका थिए।
मंगलबार राति कोहलपुर ६ रझेनामा ७ बजेपछि बा ११ छ ८३४ नम्बरको जीपमा नेकपाका नेता नरेन्द्र न्यौपाने, पुजन बिश्वकर्मा, तुलाराज बिष्ट, खिलप्रसाद भुसाल लगायतको टोलीले अस्वाभाविक गतिविधि गरिरहेको अवस्थामा स्थानियसँगै नेपाली कांग्रेसका कार्यकर्ताले घेराउ गरी नियन्त्रणमा लिएको कांग्रेस नेता फुलाराम चौधरीले बताए ।
निर्वाचन आयोगले बेलुकी ७ बजेपछि प्रचार र घरदैलो नगर्न निर्देशन दिँदादिँदै सरकारको बलमा दादागिरी शैलीमा नेकपाका नेताहरुले मतदातालाई प्रभाव पार्न घरदैलो गर्दा समेत प्रहरी मुकदर्शक वनेको भन्दै नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधव राम खत्रीले बिरोध गरेका छन् ।
राती राती मतदातालाई अनुचित प्रभावमा पार्न नेकपाले घरदैलो गर्नु ठूलो षड्यन्त्र रहेको कांग्रेस नेता चौधरीले बताए। ‘घरदैलो गर्न आएका नेकपाका नेताहरु गाडी र मोटरसाइकलमा आएका थिए, हामीले उनीहरुलाई नियन्त्रणमा लिएपछि उनीहरुले फोन गरेर कार्यकर्तालाई बोलाएका थिए । झडपको अवस्था सृजना हुन लाग्दा समेत प्रहरीले बेवास्ता गर्नु गम्भीर चलखेल हो,’ कांग्रेस नेता चौधरीले भने।
नेकपाका नेता कार्यकर्ताहरुले राती घरदैलोको नाममा पैसा बाँड्न आएपनि जनस्तरबाट प्रतिकार भएर बिफल पारेको चौधरीले दावी गरे ।
नेकपाले गरेको यस्तो गलत कार्यप्रति निर्वाचन आयोगले ध्यान दिन जरुरी रहेको काँग्रेसले वताएको छ ।