arrow

देउवाले ओलीलाई लाञ्छित गर्दै झुट बोले, कांग्रेसले आत्मसमीक्षा गर्नुपर्छ : प्रचण्ड

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
prachanda-ncp-2019.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । पहिलो पटक राष्ट्रियताको विषयमा मुलुक एकजुट भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्दै झुट बोलेको आरोप लगाए ।

नेकपाद्वारा बुधबार आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै  प्रचण्डलेअब नेपाली कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने जनाए । उनले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पारे । उनले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डोर्‍याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिए ।
    
नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदै उनले भने, “नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ ।”
    
नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख अध्यक्ष दाहालले उनलाई विजयी बनाउन आग्रह गरे।
    
नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उनले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गरे ।

नेकपा पार्टी र सरकारले राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न लागिएको भन्दै सिमाना विवाद समाधान हुने विश्वास व्यक्त गरे । नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सरकार भ्रष्टाचार अन्त्यका लागि परेको बताए ।
    
नेकपाको सरकारले मुलुकको लिपुलेक, कालापानी र लिम्पीयाधुरालगायत विवादित ठाउँको बारेमा स्पष्ट रुपमा अडान लिएको भन्दै उनले कांग्रेसले गलत प्रचार गरेर जनताबीच भ्रम छर्न खोजेको बताए ।

उनले नेपालकै इतिहासमै पहिलो प्रधानमन्त्रीको रुपमा ओलीले सिमानाका विषयमा स्पष्ट रुपमा अडान लिनाका साथै भ्रष्टाचार निमूल पार्न र कानूनी राज्य स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ