arrow

कांग्रेसको प्रश्न - 'के हुँदैछ काठमाडौंमा ?'

logo
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
biswaprakash-sharma1.jpg

काठमाडौं । नेपाली कांग्रेसले नेकपाका जिम्मेवार नेताहरुले नै जाइलाग भन्ने सार्वजनिक रुपले अपिल गरेपछि त्यसको प्रभाव राजधानी काठमाडौँमै पनि देखिएको बताएको छ  । शुक्रबार कांग्रेसद्वारा समसामयिक विषयहरूमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले राजधानीका क्याम्पसहरुमा भएको आक्रमणको भर्त्सना गरेका छन् ।

उनले भने,' त्रिचन्द्र क्याम्पस प्रमुख माथि भएको आक्रमण निन्दनीय छ ।  शुल्क वृद्धिका विरुद्ध आवाज उठ्नु सहि छ तर सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुख माथि भौतिक आक्रमण गर्नु दुःखद मात्रै होइन दण्डनीय छ । त्रिचन्द्रमा सम्मानित गुरु माथि आक्रमण गर्ने संगठनकै सदस्यहरुले नेपाल कमर्श क्याम्पस, मिनभवमा नेविसंघका सदस्यहरु माथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सीना र निरज शाहलाई घाइते बनाएका छन् । कालापानी लगायतको प्रकरणमा सिंगो राष्ट्र एकढिक्का भई उभिनु पर्ने समयमा नेपाली कांग्रेसले एकातिर आफू निकटका विद्यार्थीलाई फेरिपनि संयमित रहन निर्देशित गरेको छ तर सत्तापक्षमा त्यो ढंगको संस्कार नदेखिनु दुःखद छ । घटनाका दोषीहरुलाई कार्वाही गर्न नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ ।'

स्वास्थ्यलाभ कामना
प्रधानमन्त्री केपी ओली गम्भीर रूपले अस्वस्थ भई यतिबेला अस्पतालमा उपचारत हुनुहुन्छ । नेपाली कांग्रेस उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

आचारसंहिताको उलंघनको प्रश्न !
मंसिर १४ को उपनिर्वाचनको पूर्व सन्ध्यामा सत्तापक्षबाट कयौं स्थानमा आचारसंहिताको उल्लंघन भइरहेको विवरण केन्द्रीय कार्यालयमा प्राप्त भइरहेको छ ।

- आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्य मन्त्रीसम्म चुनाव प्रचारमा संलग्न । कयौं स्थानमा सरकारी साधन–स्रोतको दुरूपयोग ।
- दोगडाकेदार गाउँपालिका वडा नं. ४ का नेपाली कांग्रेसका वडाअध्यक्ष उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट माथि भौतिक आक्रमण नेकपाका कार्यकर्ताहरूद्वारा ।
- चितवन खैरहनी नगरपालिका वडा नं. ४ मा मंसिर ६ गतेको चुनावी सभामा ३९ युवा सहित ४६ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । आफ्नो समुदायका थुप्रैलाई कांग्रेस प्रवेश गराउने भूमिका निर्वाह गरेका स्थानीय प्रखर युवा टेकबहादुर परियारलाई मंसिर ९ गते राति भौतिक आक्रमण गरिएको छ ।
- निर्वाचनलाई आफ्नो पक्षमा अनुकूल बनाउने प्रयासमा कयौं कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र पठाउने र अन्यत्रबाट अनुकूलका कर्मचारी निर्वाचन क्षेत्रमा खटाउने कार्य भएको छ । मौन अवधी शुरू भएपछि पनि कास्कीको वैदामका डिएसपीलाई सरूवा गरिएको छ ।
- अरूबेला काममा ढिलासुस्ती तर अहिले कयौं ठाउँमा रातारात डोजर चलाउने, सडक पीच गर्ने अनि योजनामै नभएका काम पनि चाँडै सम्पन्न गर्नेछौं भनेर प्रलोभनमा पार्ने प्रयत्न गरिएको छ ।
- महोत्तरीको पिपरामा बम विष्फोट पश्चात मौन अवधिमा पनि चुनाव प्रचारकै शैलीमा गतिविधिहरू भएका छन् ।

आचारसंहिता उल्लंघनका सबै घटना र भय–त्रास चिरेर आफ्नो स्वविवेकले मतदान गर्न हामी मतदाताहरूमा अपिल गर्दछौं । अन्तिम घडीमा अझ बढ्न सक्ने राज्य नियन्त्रित यस्ता गतिविधि रोक्ने सक्षमता प्रस्तुत गर्न निर्वाचन आयोगलाई विशेष रूपले सचेत गराउन चाहन्छौं ।

कालापानी प्रकरण : खोइ गम्भीर पहलकदमी ?
नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरा समेत गाँसेर नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दा समेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गम्भीर ढंगले नगर्नु अत्यन्तै दुःखद छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत सबै दल र समस्त नेपालीको सम्पूर्ण साथका वावजुद सरकारले परिणाममुखी पहल गर्न नसक्नु लज्जास्पद विषय हो । हिजोको उग्र राष्ट्रवादको नारा यो प्रकरणमा आइपुग्दा विषर्जित हुँदै गएको चित्रले जनसमक्ष वास्तविकता उजागर त गर्दैछ नै तर कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशंका र खतरा पनि बढेको छ ।

नेपाली कांग्रेस यो विषयमा गम्भीर भएर गम्भीर पहलकदमी गर्न सरकारलाई सार्वजनिक रुपले आह्वान गर्दछ ।

एक अर्को ‘मेलम्ची’ ?
वर्तमान सरकारको रवैयाका कारण मेलम्ची खानेपानी परियोजनाबाट इटालिएन कम्पनी फर्कीएर जांदा त्यसले एकातर्फ मेलम्ची आउने समयावधि लम्बीन पुग्यो भने अर्कातर्फ वाह्य जगतमा नराम्रो सन्देश गयो । पछिल्लो समय त्यस्ते घटना दोहोरीएको छ । वीपी कोइरालाले आफ्नो पालामा शिलान्यास गर्नु भएको बनेपा वर्दीवास सडक गिरिजाप्रसाद कोइरालाको पालामा जापानको सहभागितामा निर्माण प्रारम्भ भई काम सम्पन्न भयो । त्यहि सडकसँग गाँसिएको धुलिखेलदेखि सूर्य विनायकसम्मको खण्ड विस्तार गर्ने जिम्मेवारीबाट जाइका बाहिरीन तर्फ लाग्नु दुःखद छ । सरकारले आफ्नो रवैया सच्याएर तत्काल अनुकूल वातावरण निर्माण गर्न र गलत सन्देश सम्प्रेषण हुनबाट रोक्न नेपाली कांग्रेस अपिल गर्दछ ।

अर्बौ ऋण लिएर मकै गोड्ने !
एक रोजगार कार्यक्रमका नाममा सरकारले गएको वर्ष अनुत्पादक ढंगले मुलुकको ४ अर्ब रुपैयाँ स्वाहा बनाएको थियो । त्यहि असफल परियोजनाका लागि विश्व बैंकसँग १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थपिन लाग्दैछ । नेपाली कांग्रेस स्थायी रोजगारी सृजनाको क्षेत्रमा नविन सोचका साथ अघि बढ्न सरकारलाई अपिल गर्दै यसरी अनुत्पादक ढंगले अघि बढ्ने कर्मप्रति सरकारलाई सर्तक र सचेत गराउन चाहन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ