arrow

सीमा मिचिएको जिल्लाबाट कांग्रेसको प्रश्न- सुतेको सरकार कहिले ब्युँझिने

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
darchula.jpg

दार्चुला । भारतले नेपालको सिमाना अतिक्रमण गर्दा समेत नेपाल सरकार मौन बसेको भन्दै सरकार विरुद्ध नेपाली कांग्रेस दार्चुलाले विरोध प्रदर्शन गरको छ ।  

दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेकोप्रति शुक्रवार विरोध प्रदर्शन गरिएको हो । भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दा समेत नेपाल सरकार अहिलेसम्म मुख बन्द गरेर बसेको भन्दै नेपाली कांग्रेस दार्चुलाले सरकारको मौनताका विरुद्ध विरोध जनाएको छ ।

शुक्रवार सरकार विरुद्ध विरोधमा उत्रेका उनीहरुले सिमा विवाद कुटनितिक तवरले समाधान गर, गो ब्याक ईण्डिया, कालापानीमा राज्यको उपस्थिति जना जस्ता नारा लगाएका थिए । पार्टी कार्यालयबाट याली सहित निस्केका उनीहरुले विरोध प्रदर्शन गर्दै सुतेको सरकारलाई ब्युँझेर भारत सरकारसंग कुटनितिक पहल अघि बढाउन माग गरेको छ । कांग्रेस पार्टी कार्यालय खलंगाबाट सुरु भएको विरोध र्‍याली बसपार्क, विच बजार परिक्रमा गर्दै पुलघाटमा विरोध सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता पुलेन्द्र बहादुर कार्कीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालार्ई भारतीय नक्साबाट हटाउन माग गर्नुभयो । उनले भारतले नेपाली भुमिलाई आफ्नो नक्सामा पार्ने भारत सरकारको यो कदम अन्तर्राष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप भएको बताए । दुई देशबीच यसअघि भएका असमान सन्धी सम्झौता खारेज हुनुपर्ने उनको माग छ ।

यस विषयमा सार्वजनिक रुपमा आफ्नो पक्षका प्रमाणहरु जारी गर्ने एवं कूटनीतिक पहलबाट भारतसँग प्रष्ट रुपमा वार्ता गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । भारतले मिचेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पीयाधुरा फिर्ता ल्याई नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीको ब्राह्रै महिना उपस्थिती गराउन सरकार संग उनले माग गरेका छन् । साथै उनले सुस्त गतिमा रहेको दार्चुला तिंकर सडक आयोजनालाई अविलम्ब गति दिलाइ तिंकर भञ्जाङ सम्म पुर्‍याउनुपर्ने बताए । व्याँस क्षेत्रका स्थानियहरुले आफ्नो ठाउँ पुग्न समेत भारतीय भुमि प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै सरकारले कालापानी सम्म घोरेटो बाटो एवं पदमार्ग निर्माण गर्नुपर्ने बताए ।

सरकार भ्रष्टाचार, अनियमितता र भागबन्डामा रुमलिएको नेपाली कांग्रेस दार्चुलाका सचिव हरक विष्टले बताए । भारत सरकारले जसरी पनि नेपाली भुमि फिर्ता गर्नुपर्ने कांग्रेस नेता चन्द्र सामन्तले बताए । जसका लागि कुटनितिक पहलको विकल्प नरहेको उनको भनाइ थियो ।
कोणसभामा बोल्दै कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले कालापानी क्षेत्रमा राज्यको उपस्थिति नहुनु दुखद भएको बताए । बर्तमान सरकारले नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई उपेक्षा गरेको उनको आरोप छ ।  सरकारले खोक्रा राष्ट्रवादको गफ बाहेक अरु केही दिन नसकेको सभापति बोहराले बताए । उनले भने” विकास निर्माणका कार्य र योजनाहरुमा चरम भ्रष्टाचार भइरहेको छ, तर सरकार कानमा तेल हालेर बसेको छ ।”

साथै उनले महाकाली कोरीडोरको नाममा दार्चुला तिंकर सडक ओझेलमा परेको बताए । विगतका वर्षहरुमा दार्चुला तिंकर सडकको लागि आउने करोडौ बजेट फ्रिज भएर जाने गरेको बताउदै अहिले सरकारले त्यसका लागि न्युन बजेट छुट्याएको बताए । भारतले मिचेको नेपाली भूमी फिर्ताको माग गर्दै देशैभरी प्रदर्शन भैइरहेका बेला वर्तमान सरकारले भुमी फिर्ताको विषयमा कुनै पहल नगर्दा सरकारको मौनताका विरुद्ध दबाव स्वरुप विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाका सभापती ललित सिंह बोहराले जानकारी दिए । साथै भारतले नक्सा नसच्याएसम्म र सरकारले कुटनीतिक पहल नगरे सम्म आन्दोलनका कार्यक्रम निरन्तर अघि बढाउने सभापति बोहराले बताए ।

निर्माणधिन दार्चुला तिंकर सडकको निर्माण कार्यमा तिव्रता दिनु पर्ने, तिंकर नाका खोली त्रिदेशीय व्यापार संचालन गर्न सरकार संग कांग्रेस दार्चुलाले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ