arrow

गण्डकी प्रदेशका द्वन्द्वपीडित एकठाउँमा

logo
प्रकाशित २०७६ मंसिर १४ शनिबार

पोखरा। सशस्त्र द्वन्द्वको समयमा पीडित भएकाको शुक्रबार पोखरामा भएको भेलाले ‘अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जाल गण्डकी प्रदेश’ गठन गरेको छ । सञ्जालको अध्यक्षमा कास्कीका दुदराज अधिकारी चयन भएका छन्।

त्यसैगरी सचिव गीता मगर (तनहुँ) तथा सदस्यमा यदुनाथ सिग्देल (नवलपुर), हरिप्रसाद घिमिरे (लमजुङ), विष्णु नेपाली (कास्की), मोतीबहादुर विक (कास्की), गौमती गिरी (म्याग्दी), ऋषिकान्त बस्ताकोटी (नवलपुर) र रुद्र आचार्य (पर्वत) रहेका छन् । द्वन्द्वमा अपाङ्गता पारिएकाको आवाज मुखरित हनु नसकेकाले सङ्गठित हुनुपरेको सञ्जालका केन्द्रीय अध्यक्ष सुरेन्द्र खत्रीले बताए ।

द्वन्द्वमा प्रत्यक्ष सङ्लग्न नभए पनि अपाङ्गता बनाइएका पीडितले सरकारले उपलब्ध गराउने भनेको अन्तरिम राहतसमेत पाउन नसकेकाले गत वर्ष पुसमा राजधानीमा उपलब्ध पीडित भेला भएर केन्द्रीय समिति गठन भएको जानकारी दिँदै उहाँले प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म पुगेर पीडितलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि राज्यको ध्यानाकर्षण गरिने उल्लेख गरे ।

भेलामा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख दीपकजङ्ग कार्कीले द्वन्द्वपीडितहरुको न्याय र अधिकारका लागि ढिलाइ भएको उल्लेख गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका प्रमुख शिव खकुरेलले वडा हुँदै स्थानीय तहमा समेत पीडितको वास्तविक तथ्याङ्क सङ्कलन गरी स्थानीय र प्रदेश सरकारबाट समेत पीडितका लागि औषधि उपचार, छोराछोरीलाई रोजगारी तथा शिक्षादिक्षाका लागि बजेट विनियोजन हुनुपर्ने बताए । यातना पीडित समाज गण्डकीका अध्यक्ष जयकृष्ण पोखरेलले पीडितका आवाज कतै पनि नसुनिएको भन्दै देशभरका पीडितहरु एक ढिक्का हुनुपर्ने धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ