arrow

कहाँ कहाँ भइरहेको छ शान्तिपूर्वक मतदान

logo
प्रकाशित २०७६ मंसिर १४ शनिबार
election4.jpg

भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि शनिबार बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।     
     
कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको यो प्रदेशमा बिहानैदेखि उत्साहजनकरूपमा मतदाता मतदानमा लामबद्ध भएका छन् । अधिकांश मतदानस्थलमा बिहान ६ बजेदेखि नै मतदाता पुगेका थिए ।     
     
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शनिबार बिहान ७ बजेबाट शान्तिपूर्णरूपमा मतदान शुरु भएको जानकारी दिँदै मतदान केन्द्र, मतदानस्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए । मतदाताले शान्तिपूर्णरूपमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने गरी व्यवस्था गरिएको उनको भनाइ थियो ।     
     
आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उनले  मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् । उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन् ।     
     
इनरुवा– त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा नगरप्रमुख र एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । धरानमा रहेको २८ मतदान केन्द्र र ९९ मतदानस्थलमा मतदान शुरु भएको हो । 

मतदानका लागि निर्धारित गरिएको समय बिहान ७ बजेबाट मतदान शुरु भएको छ । धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का अध्यक्ष पदका लागि मतदान शुरु भएको हो । धरानमा ९२ हजार ५५३ मतदाता रहेका छन् । निर्वाचनलाई लक्षित गरेर धरानको सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । 
     
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ को एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । वडामा तीन हजार ११ मतदाता रहेका छन् । आदर्श मावि खनदह र सुन्दरा मावि सावडाँडा गरी दुई मतदानस्थलका चारवटै मतदान केन्द्रमा मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।     
     
मालारानी–३ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का यमलाल खनाल, नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनाल चुनावी मैदानमा छन् । तत्कालीन वडाध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।     
     
राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा स्थानीय तहअन्र्तगत वडाध्यक्ष पदका लागि शनिबार बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । शान्तिपूर्ण वातावरणमा वडाध्यक्ष पदका लागि मतदान शुरु भइसकेको र मतदाता मतदानस्थलमा आउने क्रम जारी रहेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।     
     
सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कूल एक हजार ४०३ मतदाता छन् । उपनिर्वाचनका लागि छिन्नमस्ता गाउँपालिका– ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरीको एक मात्र स्थानमा निर्वाचन हुन गइरहेको सो वडाध्यक्ष पदका लागि एक स्वतन्त्रसहित सात उम्मेदवार चुनावी मैदानमा छन् ।  
     
विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।     
यस्तै जिल्ला सुरक्षा समिति सप्तरीले निर्वाचनका लागि मङ्सिर ११ गते राति ८ बजेदेखि मङ्सिर १५ गतेसम्म सम्पूर्ण छिन्नमस्ता गाउँपालिका क्षेत्र र विष्णुपुर गाउँपालिका–७ क्षेत्रभित्र मदिरा बिक्री, वितरण, उत्पादनलाई पूर्णरूपमा बन्देज लगाएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।     
     
त्यस्तै बिहान ५ बजेदेखि मतदानकार्य सम्पन्न नभएसम्मका लागि तोकिएबमोजिमको अनुमतिप्राप्त र आकस्मिक सेवासम्बन्धी सवारी साधनबाहेक अन्यलाई विष्णुपुर गाउँपालिकास्थित पश्चिमी कोशी नहरको दक्षिणपट्टिको भागमा सवारी आवगमनमा बन्देज लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ का मतदान केन्द्रमा आज बिहान ७ बजेदखि मतदान शुरु भएको छ । ४५ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए ।     
     
प्रदेशसभा सदस्यको निर्वाचन हुने क्षेत्रमा ४३ र वडाध्यक्षको निर्वाचन हुने बडिगाड–२ मा दुई मतदान केन्द्र छन् । उत्साहपूर्वकरुपमा मतदाता मतदानमा सहभागी भएको ढोरपाटन नगरपालिका–३ स्थित घोसाखानी आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत खिम विकले बताए ।     
     
प्रदेशसभा सदस्यका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी उम्मेदवार छन् । 
     
 यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।     
     
यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने क्षेत्रमा ३५ हजार १८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।     
     
चितवन जिल्लाका उपनिर्वाचन हुने तीन वडामा आज बिहान ७ बजेबाट मतदान शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ एवं ५ मा मतदान शुरु भएको जानकारी दिए । निर्धारित समयमै ती वडाका मतदान केन्द्रमा मतदान कार्य शुरु भएको उनले जानकारी दिए ।     
     
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा छ मतदानस्थल र १५ केन्द्र रहेका छन् । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् । 

जिल्लाका मतदानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । मतदान केन्द्रमा सिसी क्यामेरासमेत जडान गरिएको छ । ती वडामा प्रवेश गर्ने नाकामा सुरक्षाकर्मी बसेर सुरक्षा जाँच गरिरहेका छन् ।

जिल्लाका तीन वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । सवारी दुर्घटनामा खैरहनीका वडाध्यक्षको निधन भएको र भरतपुर–१६ का वडाध्यक्षको अर्बुद रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।     
     
घोराही– दाङमा उपनिर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नं ३ ९ख० र घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारीरहने छ । मतदान सकिएलगत्तै बेलुकीबाटै मतगणना गरिने मुख्य निर्वाचनको कार्यालय जनाएको छ ।     
मतगणनाको लागि पनि सम्पूर्ण तयारी पूरा गरिसकेको हुँदा दलसँगको सहमतिमा दाङ देउखुरी जिल्ला अदालतको कार्यालयमा बेलुकाबाटै मतगणना गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । घोराही उपमहानगरपालिका–१६ को मतदान निर्वाचन कार्यालयको नजिक भएको हँुदा पनि छिट्टै मतगणनाको लागि कुनै समस्या नभएको उनको भनाइ थियो ।     
     
“राजनीतिक दलका बीच दलीय सहमति भए घोराही–१६ को उपनिर्वाचनको मतगणना आजबाटै सुरु हुन्छ”, उनले भने, “तत्काल गणना शुरु गर्दा प्रक्रिया सहज हुने र भोलिपल्ट गर्दा झन्झटिलो हुने हुँदा दलहरुको सहमतिमा आजबाटै मतगणना शुरु गर्ने तयारीमा रहेका छौं ।” घोराही उपमहानगरपालिका–१६ सदरमुकाम नजिकै भएकाले मतपेटिका समयमै सङ्कलन हुने हुँदा तत्काल गणना सम्भव भएको निर्वाचन अधिकृतले बताए ।     
     
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–१६ को मतगणना दाङ देउखुरी जिल्ला अदालतको परिसरभित्र गरिने व्यवस्था मिलाइएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं ३ (ख) को मतगणना भने आइतबार बिहानदेखि गरिने भएको छ । उक्त क्षेत्रका केही मतदानस्थल विकट क्षेत्रमा रहेका कारण मतपत्र ल्याउन समय लाग्ने भएकाले प्रदेशसभाको मतगणना आइतबार गर्ने व्यवस्था मिलाइएको रिजालले बताउनुभयो । प्रदेशसभाको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने भएको छ ।     
     
उपनिर्वाचनका लागि जिल्लाका ३४ निर्वाचनस्थल तथा ८२ मतदानकेन्द्र तोकिएका छन् । निर्वाचनका लागि ७३६ कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं ३ (ख) मा ६८ हजार ७१९ र घोराही उपमहानगरपालिका–१६ मा चार हजार ४५३ मतदाता छन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ