कालीगण्डकीको के काम ? –सांसद राना

प्रकाशित मिति : २०७६ मङ्सिर १६ सोमबार

काठमाडौँ । पाल्पाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद दलबहादुर रानाले एकादशीका दिन नुहाउन र मृतकको दाहसंस्कार गर्न बाहेक कालीगण्डकीको कुनै काम नभएको बताएका छन् ।
 
अहिलेसम्म कुनै प्रयोग नै नभएको कालीगण्डकीको डाईभर्सन गर्न दिन्न भन्नु गलत भएको उनको भनाई छ । कालीगण्डकी क्षेत्रका आफ्नै मतदाता डाईभर्सनको विरोधमा आन्दोलित भइरहेका बेला उनैबाट निर्वाचित सांसद राना भने मतदाताकै आन्दोलनको विपक्षमा उभिएका हुन् । 
 
काठमाडौंमा आयोजित एक कार्यक्रममा चेतावनीका साथ उनले भने, “म यही मञ्चबाट भन्छु, कालीगण्डकी डाईभर्सनको विरोध गर्नेहरुले आफ्नो नारा संशोधन गर्नुपर्दछ।”
 
उनले कालीगण्डकी डाईभर्सनको विपक्षमा उभिएकालाई कालीगण्डकीको बहुउपयोगका लागि योजना ल्याउन सुझाव पनि दिए । 

कालीगण्डकीसँगै रहेको पाल्पाको क्षेत्र नं १ का बासिन्दाबाट चार पटक सांसद बनेका रानाले कालीगण्डकीको उपयोगका लागि आफुले काम गर्नुको साटो उपयोग नहुनुमा स्थानीयकै दोष रहेको बताए । 

आफुले झण्डै ३० बर्षसम्म केही गर्न नसकेकोमा कुनै पश्चाताप गर्नुको सट्टा उनले कुनै योजना नल्याएको भन्दै आफ्नै मतदाताको कमजोरी औंल्याए । 

आफ्नै निर्वाचन क्षेत्रका बासिन्दाको आन्दोलनको औचित्य नभएको सांसद रानाले टिप्पणी गरे । राम्दीनिरबाट कालीगण्डकी डाईभर्सन गर्दा त्यसको तल नदी सुक्छ भनेर विरोध गर्नुमा कुनै तुक नभएको उनको भनाई छ । 

उनले कालीगण्डकी डाइभर्सनको विरोध गर्नेहरुलाई चुनौती दिदै “हामी पानी दिन्नौँ” मात्रै भनेर विरोध गर्नु गलत भएको बताए । सांसद रानाले भने, “प्रयोगमा नआएको नदीको पानी दिन्न भन्नु कुनै नर्क होईन, कुनै माग होईन ।” 

कार्यक्रममै सहभागी स्थानीय बासिन्दा र विज्ञहरुले भने सांसद रानाको अभिव्यक्तिको विरोध गरेका थिए । उनीहरुले कालीगण्डकीको महत्वलाई सांसद रानाले बुझ्न नसकेको वा आफ्नै नेताको निर्देशनमा बुझ्पचाएको आरोप लगाएका थिए  ।

कार्यक्रममा सांसद रानाले नदी डाईभर्सन गरेपनि स्थानीयलाई आवश्यकता पर्ने पानी छाडीने दावी गरेका थिए । तर विज्ञहरुले भने उनको दावी गलत भएको भन्दै कार्यक्रममै खण्डन गरेका थिए । 

नेपाल सरकारका पूर्व सचिव तथा कालीगण्डकी बचाउन अभियानका नेतृत्वकर्ता शान्त बहादुर श्रेष्ठले सांसद रानाले भने जस्तो डाईभर्सनपछि पनि नदीमा पर्याप्त पानी नहुने दावी गरे । उनले डाईभर्सन सम्वन्धी अहिलेसम्मका कागजपत्र हेर्दा तल्लो भेगलाई आवश्यक पर्ने पानी आउने अवस्था नरहेको बताए । 
 
खान र सिंचाई गर्न प्रयोग नहुदैमा नदीको प्रयोग नै भएन भन्नु अल्प बुझाई हुने विज्ञहरुको भनाई छ । सांस्कृतिक तथा वातावरणीय रुपमा अप्रत्यक्ष तरिकाले नदीको प्रयोग भइरहेको उनीहरुले बताएका छन् ।

नयाँ