कास्की कांग्रेसद्वारा मतदातालाई आभार व्यक्त, खेमराज गुरुले जनताको सेवा गरिरहने
प्रकाशित २०७६ मंसिर १६ सोमबार
349
Shares
पोखरा। नेपाली कांग्रेस चुनाव प्रचार मूल समिति कास्कीले कांग्रेसको पक्षमा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेको छ । समितिका संयोजक कृष्णबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाले सत्ताको दुरुपयोग गरी गरेका सबै हर्कतका बाबजुदपनि कांग्रेसलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।
विज्ञप्तिमा निर्वाचनको बेला विभिन्न स्थानमा मतदातालाई आतंकित पार्ने गरी गरिएका विष्फोटका घटना र वडा प्रहरी कार्यालय बैदामका डिएसपीको सरुवाको निन्दा गरिएको छ । त्यस्तै, निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन कार्यालय, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारलाई धन्यवाद दिइएको छ ।
विज्ञप्तिमा निर्वाचन अवधिमा कास्की आएर सहयोग गर्ने पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.सशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय प्रतिनिधि डा मिनेन्द्र रिजाल लगायत पार्टी केन्द्रका पदाधिकारी र केन्द्रिय सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
यसैबीच, कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको उपस्थितिमा सोमबार बसेको बैठकले केही दिनभित्र निर्वाचनको समीक्षा गर्दै पार्टी सुदृढिकरणका अभियान सुरु गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रिय सदस्य एवं प्रतिनिधि डा.मिनेन्द्र रिजालले पार्टीलाई सुदृढीकरण गर्नुको बिकल्प नभएको बताए । ‘बलियो पार्टीमा मात्रै हामी सबै सुरक्षित हुन्छौ, उनले भने, ‘सबै मिलेर पार्टीलाई सशक्त र मजबुद बनाउन जुटौं ।’
उम्मेदवार खेमराज पौडेलले पार्टीभित्र र बाहिरबाट ठूलो साथ सहयोग र सहानुभूति पाएको उल्लेख गरे ।
निर्वाचनका लागि कात्तिक २५ गते पोखरा आएका नेता रिजाल सोमबार राजधानी फर्केको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
जनताका आवश्यकता पूरा गर्न खटिरहन्छु – पौडेल
कास्की क्षेत्र नं २ उपनिर्वाचनमा कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार खेमराज पौडेलले निर्वाचनका बेला जनताकाबीच गरेका प्रतिवद्वता पूरा गर्न सदैव क्रियाशील बन्ने बताएका छन् ।
उम्मेदवार पौडेलले सोमबार विज्ञप्ति प्रकाशित गरी निर्वाचनमा प्राप्त सहयोग, सद्भाव र सहानुभूतिप्रति आभार व्यक्त गरेका छन् ।
विज्ञप्तिमा निर्वाचनलाई सफल बनाउन खट्ने निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद दिइएको छ । त्यस्तै, निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह समेत गरिएको छ ।
विज्ञप्तिमा निर्वाचित विद्या भट्टराईलाई बधाई ज्ञापन गर्दै रचनात्मक काममा सदैव सहयोग रहने र जनताको आवश्यकता पूरा गर्न खटिरहने उल्लेख गरेका छन् ।