भारतको विरोध गरे आपत्ति आइलाग्ने सरकारलाई चिन्ता : अध्यक्ष केसी
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
501
Shares
कञ्चनपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा मंगलबार गरिएको समापन कार्यक्रममा उनले भारतले जारी गरेको नयाँ नक्सामा देखाइएका नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ताका लागि सरकारले कूटनीतिक पहलको थालनी गर्नुपर्ने बताए ।
उनले राजनीतिक दलहरु राष्ट्रियता बचाउनका लागि एकजुट भएका बेला सरकारले कूटनीतिक पहल चाल्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । “भारतको विरोध गरे के नै पो आपत्ति आइलाग्छ भन्ने सरकारलाई चिन्ता होला”, उनले भने, “भूमि फिर्ताका लागि सरकारलाई जनताले दवाव दिनुपर्छ ।”
सत्तामा रहिरहनका लागि नेपालका राजनीतिक दलहरु भारतको इसारामा चल्ने गरेको उनको भनाइ थियो । दक्ष युवाहरु स्वदेशमा रोजगारी नपाउँदा विदेशिनु परेको उल्लेख गर्दै उनले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यको थालनी सरकारले गर्नुपर्ने बताए ।
यही मङ्सिर ११ गते कैलालीको धनगढीबाट शुरु भएको कालापानी अभियान सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, डोटी, दार्चुला हुँदै मंगलबार भीमदत्तनगरमा पुगेर समापन भएको हो ।