arrow

भीआइपी कैदी भारतीलाई घर र होटलमा लाने असईलाई अमेरिका लाने आश्वासन

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
shambhu-bharati.jpg

काठमाडौं । सुडान काण्डको भ्रष्टाचारमा दोषी देखिएपछि डिल्लीबजार खोरमा सजाय काटिरहेका ठेकेदार शम्भु भारतीलाई गोप्यरुपमा घर र होटलमा लाने असई प्रकाश ढाँट निलम्बनमा परेका छन् । जेल सजाँय भोगिरहेका कैदी भारतीलाई वीर अस्पताल लाने भनेर उनको घर भैंसेपाटी र होटल हिमालयमा लगेको पुष्टी भएपछि असई ढाँट निलम्बनमा परिसकेका छन् । अदालतको फैसलापछि फरार रहेका भारतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गत भदौ १३ गते पक्राउ गरेको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भारतीलाई उपचार बहानामा होटल हिमालयन लगेर ‘मोज’ गराएको आरोपमा ढाँट २०७६ कात्तिक २४ मा निलम्बनमा परेका हुन् । ड्युटी इन्चार्ज भएको बेलामा भारतीलाई उनले होटलमा लगेका थिए ।

डिल्लीबजार कारागार प्रशासनले भारतीलाई कार्तिक २० गते ‘वीर अस्पतालको अर्थोेपेडिकमा उपचार गराएर कुनै पनि तरिकाबाट भाग्न उम्कन नपाउने गरी कडा सुरक्षाका साथ लगी उपचार कार्य सम्पन्न हुनासाथ साविकबमोजिम थुनामा राख्नू’ भन्ने पत्र दिएको थियो । तर, प्रहरीले भारतीको उपचार सकिएपछि डिल्लीबजार कारागार पुर्‍याउनुको साँटो होटल हिमालय पुर्‍याएको थियो । भारतीले होटलमा केही व्यक्तिसँग भेटघाट गरी पुनः लगेको ट्याक्सी छोडी आफ्नो गाडी मगाएर भैँसेपाटी निजी निवास पुगेका थिए । त्यसरी पुर्‍याउने काम असई ढाँटले गरेका थिए ।  

प्रहरीमा सेवा प्रवेश गरी तालिम सकेर डिल्लीबजार कारागारमा पदस्थापन भएको ५ महिनामात्र भएका असई ढाँटले क्षेत्रीयताका हिसाबले सुदूरपश्चिम प्रदेशकै भएकाले भारतीलाई अस्पताल लाने भनेर उनको घर भैसेपाटी र होटल हिमालय कुपण्डोलमा लगेका थिए । वीर अस्पतालमा चेक गराएको कागज हिमालय होटलमै छुटेपछि भारती होटल र घर गएको सार्वजनिक भएको थियो । जेलमा सजाँय भोगिरहेका कैदीलाई होटलमा लगिएको पुष्टी भएपछि निलम्बनमा परेका असई ढाँटलाई ठेकेदार भारतीले अमेरिका लैजाने आश्वासन दिएका छन् । असई ढाँटले आफू निलम्बनमा परेको गुनासो गरेपछि भारतीले आफ्नो अमेरिकामा ब्यापार भएकाले जेलबाट छुटेपछि अमेरिकातिरै लाने आश्वासन दिएको बुझिएको छ ।

विशेष अदालतले सुडान मिसनमा एपीसी खरिदमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको फैसला गरेको थियो । २०६८ साल जेठ २४ गते दायर मुद्दामा तीन प्रहरी पूर्व–महानिरिक्षक सहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्यूर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारती विरुद्ध मुद्दा दायर गरेको थियो । विशेषको फैसला चित्त नबुझी सर्वोच्चमा गएका थिए । सर्वोच्चले एस्यूर्ड रिस्क लिमिटेडका डाइरेक्टर माइकल राईडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो । साथै पूर्व–प्रहरी प्रमुखहरु ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैंया जरिवाना गर्ने फैसला भएको थियो । तीनजना पूर्व–प्रहरी प्रमुखहरुमाथि दुई–दुई वर्ष कैद सजायको फैसला पनि भएको थियो ।

पूर्वआइजीपी ओमविक्रम राणा, हेम गुरुङ लगायतले कैद भुक्तान गरी छुटिसकेका छन् । अर्का पूर्वआइजीपी रमेश चन्द ठकुरी कहिले भारत त कहिले कन्चनपुरतिर लुकेर बसे पनि अन्ततः आफैं अदालतमा हाजिर भएर जेल सजाँय भुक्तान गरिरहेका छन् । ठेकेदार भारती भने नेपालमा लुकीलुकी बसे त कहिले अमेरिका बस्दैआएका थिए । अन्ततः २०७६ भदौ १३ मा ललितपुरको भैसेपाटीस्थित उनी पक्राउ परेका थिए । पक्राउ परेपछि असई ढाँटलाई प्रभावमा पारी भारती अस्पताल जाने कागजात बनाएर घर र होटलमा मोज गर्न जाने गरेका थिए ।  

डिल्लीबजार कारागारको क ब्लकमा शम्भु भारती बस्दै आएका छन् । त्यसो त सोही ब्लकमा पूर्वसभामुख कृष्णबहादुर महरा, नेकपाका नेता डिबी कार्की, पूर्वआइजिपी रमेशचन्द ठकुरी पनि बस्ने गर्दछन् । ठकुरी र भारती सुडान काण्डमा भ्रष्टाचार गरेको अभियोगमा जेल सजाँय भोगिरहेका छन् । अदालतले जेल सजाँय तोकिसकेपछि पनि भारती प्रायः काठमाडौंमै देखिन गरेका थिए । पुस्कर कार्की सीआइबीको प्रमुख हुँदा उनलाई पक्राउ गर्न लागिएको थियो । तर तत्कालीन सीआइबी प्रमुख डीआइजी कार्कीले उनलाई पक्राउ गर्न दिएका थिएनन् । भारती र हाल एआइजी कार्कीका छोरीहरु अमेरिकामा सँगै पढ्ने हुनाले उनलाई पक्राउ नगरिएको चर्चा पनि त्यतिबेला भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ