arrow

नेकपा सांसद विशाल भट्टराईमाथि बजेट एकलौटी बाँडेर कमिसन खान खोजेको आरोप

समकक्षीलाई बेवास्ता गर्दै एकलौटी बितरण गरिएपछि कांग्रेस सांसद हिरा गुरुङले गरिन भण्डाफोर

logo
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
khotang-mpbishal-hira.jpg

खोटाङ। स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट एकलौटी ढंगबाट वितरण गरिएको भन्दै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य हिरा गुरुङले आपत्ती जनाएकी छन् । साझेदारी कार्यक्रमको ६ करोड बजेट नेकपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जिल्लामै रहेको समकक्षीलाई सुचना र जानकारी समेत नगराई एकलौटी ढंगबाट आर्थिक वर्ष २०७६/०७७ को ६ करोड बजेट बिभिन्न ३० वटा योजनाका लागि  वितरण गरेको भन्दै घोर आपत्ती जनाएकी हुन् । 

जिल्लाको पिछडिएको क्षेत्र र भेगमा पूर्वाधार विकास गर्न विनीयोजित रकम वितरण गर्दा समकक्षी माननीयको वेवास्ता गर्दै कमिशन खाने नियतमा राखि निहित स्वार्थमा लोकतान्त्रिक पद्धतिको धज्जी उडाउँदै राज्यकोषको रकम प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले वितरण गरेको भन्दै गुरुङले आपत्ति जनाएकी हुन् ।

“जिल्लामा रहेका प्रतिनिधि सभा सदस्यकोबीचमा छलफल र समझदारीबाट बजेट विनीयोजन गर्नुपर्ने नीति स्पष्ट हुँदा–हुँदै आफु जिल्लामै रहेको बेलामा पनि कुनै सूचना र जानकारी नै नगराई एकलौटी ढंगबाट बजेट विनीयोजन गरिएकोप्रति घोर निन्दा एवं भत्सर्ना गर्दछु ।” बिहीबार दिक्तेलस्थित सगरमाथा होटलमा पत्रकार सम्मेलनको आयोजना गरेर गुरुङले बताएकी छिन् । 

जिल्लाको पिछडिएको क्षेत्र र भूभागको विकासका लागि यहाँका राजनीतिक दल, संघसस्था, समाजसेवी, स्थानीय समुदायको छलफल र समन्वय आवश्यक छ। तर, भट्टराईले निहीत स्वार्थ र भ्रष्ट्राचार गर्ने मनसायले बजेट वितरण गरेको प्रष्ट देखिएको गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

जनताले तिरेको करबाट आएको उक्त बजेट आम सरोकारवाला पक्षसँग छलफल नगरि लहडमा वितरित उक्त रकम कार्यान्वयन नगर्न नगराउन सम्बन्धित पक्षलाई विज्ञप्तीमार्फत अनुरोधसमेत गरिएको छ । गत वर्ष पनि वितरण गरिएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेटमा अपारदर्शिता र व्यापक भ्रष्ट्रचार भएको देखिएकोले छानविन गर्न सम्बन्धित पक्षलाई विज्ञप्तीमार्फत आग्रहसमेत गरिएको छ।

भट्टराईले एक दिन अघिमात्र पत्रकार सम्मेलन गरेर स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको ६ करोड बजेट विभिन्न ३० वटा योजनाका लागि विनियोजन गरिएको जानकारी दिएका थिए । संघीय संसदका लागि एक मात्र निर्वाचन क्षेत्र तोकिएको जिल्लामा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको सबैभन्दा बढी बजेट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा र सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकामा हालिएको छ । स्थानीय तथा प्रदेश सरकारले सडक निर्माणकै लागि बजेट खर्च गरिरहेको अवस्थामा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको अधिकांश बजेट पनि सडकमै हालिएको छ । ३० वटा योजनामध्ये १९ योजना सडक निर्माणसँग सम्वन्धित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ