arrow

कांग्रेसले सबै स्थानीय तहमा भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने

बर्लिनको पर्खाल त धरानमा ढल्यो: विश्वप्रकाश शर्मा

logo
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
Kageshwori-nc-protest.jpeg

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सवै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध पार्टीले देशव्यापी अभियान संचालन गर्ने बताएका छन् । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको अनियमितता, वेथिति, ढिलासुस्ती र नगरप्रमुखको मनोमानी बिरुद्ध शुक्रबार पार्टीको नगर संघर्ष समितिले आयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता शर्माले स्थानीय तहमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भए कांग्रेस विरोधमा उत्रने चेतावनी दिए । 

शर्माले नेकपा नेतृत्वको सरकार गठनपछि देशमा वाइडबडी जहाज खरिद प्रकरणदेखि बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा कब्जा गरेको भन्दै त्यसका विरुद्ध कांग्रेसले नेपाल बन्द आयोजना गर्दा जनताले दुख पाउने भएकाले विरोध सभाबाट नै जनतालाई जागरुक बनाउने बताएका हुन् । 

‘बर्लिनको पर्खाल ढले झैं धरान उपमहानगरपालिकाको गत १४ मंसिरमा भएको निर्वाचनमा कम्युनिष्ट ढलिसके’, शर्माले भने, ‘ नेकपाको नेतृत्वमा दुई तिहाइको समर्थनमा सरकार बनेपछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकताले नेकपालाई जनतालाई पत्याउन छाडिसकेको यो प्रमाण हो ।’

उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई ‘सच्चिने कि सक्किने’ भन्ने दुई वटा विकल्प मात्र रहेको दाबी गर्दै शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह नगर भरतपुर महानगरपालिका र प्रधानमन्त्रीको स्थायी घर भएको भक्तपुरमा समेत नेकपा पराजित भएकोले नेकपासँग सच्चिन सन्देश दिएको बताए । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र समेत रहेको कागेश्वरी मनहरामा भ्रष्टाचार, अनियमितता, बेथिति र ढिलासुस्ती भएको भन्दै नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले २७ बुँदे प्रचार सार्वजनिक गरेको छ । 

नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको अनुकम्पाले प्रधानमन्त्री भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो निर्वाचन क्षेत्रमा नेकपाकै नगर प्रमुखले गरेको भ्रष्टाचार र बेथिति नियन्त्रण गर्न उनले आग्रह गरे । 

‘सरकारले गरेका हरेक क्रियाकलापको बिरोध गर्न नेपाल बन्द नै गर्न सकिए पनि कांग्रेसले त्यस्तो गर्दैन’, प्रवक्ता शर्माले भने, ‘बलियो देखिने नाममा कांग्रेसले नेपाल बन्द गर्ने, सवारी तोडफोड गर्ने र मान्छेलाई जिउँदै जलाउने काम गर्दैन ।’

नगरपालिकामा भएको भ्रष्टाचारको विषयमा पार्टीको कागेश्वरी मनोहरा संघर्ष  समितिका संयोजक शंकर थापाले अनियमितता र भ्रष्टाचारको फेहरिस्त प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले नेकपाको  सरकार भएपछि स्थानीय तहमा संस्थागत भ्रष्टाचार हुन थालेको बताए ।

कांग्रेस काठमाडौंका  सभापति सवुज वानियाँ (कृष्ण), क्षेत्रिय सभापति उपेन्द्र कार्की, नेता लोकेस ढकाल लगायतले स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमितताको भण्डाफोर कार्यक्रम संचालन गरिने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ